कोभिड–१९ रोकथाम र नियन्त्रणका लागि सरकारको भूमिका प्रशंसनीयः अध्यक्ष तिमिल्सिना

काठमाडौं, ७ फागुन ।

राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले चरणबद्ध रुपमा फैलिँदै गएको कोभिड–१९ रोकथाम र नियन्त्रणका लागि नेपाल सरकारले गरेका कार्यहरु महत्वपूर्ण र प्रशंसनीय रहेको बताएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आयोजना र विश्व स्वास्थ्य सङ्गठनको सहयोगमा पोखरामा आज आयोजित ‘कोभिड–१९ विरुद्धको खोपसम्बन्धी जोखिमः सञ्चार तथा सामुदायिक सहभागिता’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले सो कुरा बताएका हुन् ।

उनले विभिन्न भेरियन्टका रुपमा देखापरेको कोभिड–१९ ले विज्ञान र प्रविधिलाई समेत चुनौती दिँदै गइरहेको जनाउँदै नेपाल जस्तो मुलुकमा खोपको सहजता र अन्य व्यवस्थापनका कार्यले कोरोना रोकथाम र नियन्त्रणका लागि केही सहज भएको बताए । उनले अझै पनि महामारी पूर्ण रुपमा निर्मूल नभइसकेकाले स्वास्थ्य सतर्कतासहित मापदण्ड पालना गरेर मात्र गतिविधिहरु गर्नुपर्ने बताए । अध्यक्ष तिमिल्सिनाले पछिल्लो राजनीतिक घटनाक्रमले नागरिकलाई निराश बनाएको जनाउँदै देशको समृद्धि, सुशासन र विकासका लागि सबैले ध्यान दिनुपर्नेमा जोड दिए ।

महामारी रोकथामका लागि जनप्रतिनिधिको भूमिका महत्वपूर्ण हुने भएकाले स्वास्थ्यजस्तो संवेदनशील विषयमा जनप्रतिनिधि चनाखो भएर गृहकार्य गर्ने र रणनीतिक योजनाहरु बनाउनुपर्ने उनको भनाइ थियो ।

कार्यक्रममा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. सङ्गीता कौशल मिश्राले २०७६ पुस २८ मा नेपालमा पहिलो पल्ट कोभिड–१९ सङ्क्रमित देखा परेको र तत्कालीन समयमा कोभिड परीक्षण रोकथामका कार्य गर्न निकै जटिल र चुनौती रहे तापनि मन्त्रालयले समुदायलाई सुसूचित गराएर महामारी नियन्त्रणका लागि काम गरेको बताए । उनले पिसिआर ल्याब नहुँदा तत्कालीन समयमा हङकङमा परीक्षणका लागि पठाउनु परेको स्मरण गर्दै अहिले नेपालमा १०२ पिसिआर ल्याबहरु रहेको जानकारी दिए ।

डा मिश्राका अनुसार सरकारले २०७७ साल माघ १४ मा खोप कार्यक्रम सञ्चालन गरेकामा हालसम्म तीन करोड ६० लाख ९९ हजार १६९ ले पहिलो र दोस्रो डोज खोप लगाएका छन् । त्यस्तै आठ लाख ४२ हजार ५९० जना बुस्टर डोज खोप लगाएका छन् । उनले कूल जनसङ्ख्या ७३ प्रतिशतले पहिलो र ५८ प्रतिशतले दोस्रो डोज लगाएको जानकारी दिए ।

त्यसैगरी हालसम्म ६४ लाख एक हजार १६ जनामा पिसिआर परीक्षण गरिएको छ भने ११ लाख १३ हजार ५४४ सङ्क्रमित सङ्ख्या रहेको थियो । कोभिड–१९ का कारण ११ हजार ९१३ जनाले ज्यान गुमाएका छन् । सक्रिय सङ्क्रमितको सङ्ख्या १४ हजार ४३५ रहेको छ । उनले हाल कोभिड सङ्क्रमण सङ्ख्या ओरालो लाग्दै गएको जनाउँदै समुदायस्तरबाटै जनचेतना जगाउन सके आगामी दिनमा महामारीबाट जोगिन सकिने बताए ।-रासस

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्