स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगमा १० दल दर्ता

काठमाडौँ, ९ फागुन।

स्थानीय तहको निर्वाचन प्रयोजनका लागि हालसम्म १० वटा दल निर्वाचन आयोगमा दर्ता भएका छन् । आयोगले फागुन ५ गते ११ दिनको समय राखेर दल दर्ताको लागि निवेदन पेश गर्न राजनीतिक दलहरुलाई आह्वान गरेको थियो । आइतबारसम्म १० वटा दल मात्रै स्थानीय तहको निर्वाचनमा भाग लिनका लागि दर्ता भएका हुन् । हालसम्म नेपालका कुनै पनि ठूला राजनीतिक दलले आयोग दल दर्ताका लागि निवेदन दिएका छैनन् । राजनीतिक दलहरु निर्वाचन प्रयोजनका लागि दर्ताका लागि आउने क्रम जारी रहेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौड्यालले जानकारी दिए ।

निर्वाचन प्रयोजनका लागि जनमत पार्टी, मंगोल नेशनल अर्गनाइजेशन, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय नागरिक पार्टी, जनता प्रगतिशील पार्टी, नेपाल लोकतान्त्रिक पार्टी, देशभक्त समाज पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, तराइ मधेश लोकतान्त्रिक पार्टी, मौलिक ज्वरो किलो पार्टीले स्थानीय तहको निर्वाचनमा भाग लिनका लागि दर्ता भएका हुन् ।

आयोगले २०७९ साल वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनको लागि यसअघि आयोगमा दर्ता कायम रहेको दलहरुले समेत पुनः दल दर्ता गर्नुपर्ने भनेको छ । आयोगले १५ फागुनसम्मका लागि दल दर्ताको निवेदन दिन आह्वान गरेको छ ।स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीले मात्रै पहिलेदेखि नै प्रयोग गर्दै आएको चुनाव चिह्न पाउने छन् ।

राजनीतिक दलसम्बन्धी ऐनको व्यवस्था अनुसार राष्ट्रिय पार्टी ६ बाहेक अरू दलले आफूले प्रयोग गर्दै आएको चुनाव चिह्न रोज्न पाउने छैनन् । उनीहरू निर्वाचन आयोगले दिएको नयाँ चुनाव चिह्नबाट चुनावमा लड्नुपर्ने छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्