मर्यादित रुपमा होली मनाउन धादिङ प्रहरीको अनुरोध

धादिङ,०१ चैत।

जिल्ला प्रहरी कार्यालय धादिङले होली पर्व मर्यादित रुपमा मनाउन आग्रह गरेको छ ।

कार्यालयले मंगलबार एक सुचना जारी गर्दै कोभिड–१९ को जोखिम कायमै रहेका कारण होली पर्व मनाउँदा विशेष सावधानी अपनाउन अनुरोध गरेको हो ।

होली पर्व मनाउने नाममा कोही कसैलाई इच्छा विपरित रंग नदल्न, अबिर हाल्ने, लोला हान्ने तथा हो–हल्ला गर्ने कार्य नगर्न, जबरजस्ती अमर्यादित गैर कानूनी र उच्छङ्खल किसिमका कुनै पनि व्यवहार गर्ने कार्य कानून विपरित भएकाले त्यस्ता क्रियाकलाप रोक्न प्रहरीले आग्रह गरेको छ ।

कोरोना भाइरस फैलन सक्ने अवस्थालाई मध्यनजर गरी सार्वजनिक स्थानहरुमा सभा सम्मेलन भोज भतेर एवं धेरै संख्यामा भेला भई होली पर्व नमनाउन समेत सूचनामा भनिएको छ।यस्तैयात्रामा निस्किएका व्यक्तिहरु, बाटोमा हिडिरहेका महिला तथा बालबालिकाहरुलाई होलीको नाममा दुख दिने, हैरानी दिने गरेको पाइएमा तुरुन्त प्रहरीलाई खबर गर्न आग्रह गरिएको छ ।

मादक पदार्थ सेवन गरी हुलहुज्जत तथा झैझगडा नगर्न पनि आग्रह गरीएको छ ।यस्ता कार्यहरु गरे गराएमा जिल्ला प्रहरी कार्यालय धादिङको १०० वा ९८५१२८३४८० मा जानकारी गराउन समेत अपिल गरेको छ ।

होलीलाई असत्यमाथि सत्यको विजयको रुपमा हरेक वर्ष फागु पूर्णिमाका दिन मनाउने गरिन्छ ।रंगको पर्व होलीलाई आपसी कटुताको अन्त्य र सद्भाववृद्धिको पर्वको रुपमा पनि लिने गरिन्छ ।यसपालि ३ गते विहीबार पहाडी जिल्लामा र ४ गते शुक्रबार तराईका जिल्लामा होली मनाइँदै छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्