वैशाख पहिलो साता लाप्राकमा ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ हुने, आजबाटै चलचित्रको दर्ता प्रक्रिया सुरु

काठमाडौं, १० चैत
आगामी ५-७ वैशाखमा ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ हुने भएको छ । सेलिब्रेटी नेपालको आयोजनामा गोरखाको लाप्राकमा महोत्सव हुने भएको छ । 

चलचित्र विकास बोर्डको सहकार्यमा हुन लागेको महोत्सवमा नेपाली मौलिक ग्रामीण कथावस्तुमा बनेका चलचित्रहरूलाई सहभागी गराइनेछ । बिहीबारबाटै चलचित्रको दर्ता प्रक्रिया पनि सुरुवात भएको छ । महोत्सवमा सहभागी हुन चाहने चलचित्र टिमले [email protected] मा इमेल गरेर सहभागीता जनाउन सक्नेछन् ।

पर्यटन प्रवर्द्धनसँगै नेपाली चलचित्रलाई ग्रामीण बजारमा पुर्‍याउने उद्देश्यका साथ महोत्सव आयोजना गर्न लागिएको अध्यक्ष रघुनाथ सापकोटाले जनाएका छन् । महोत्सवमा गाउँले परिवेशमा निर्माण गरिएका स्वदेशी सर्ट फिल्म, डकुमेन्ट्री, फिचर फिल्म र भाषाभाषीका चलचित्र सहभागी हुनेछन् । जुरी टिमले छनोट गरेका चलचित्र अत्याधुनिक प्रविधिमा स्क्रिनिङ गर्ने र उत्कृष्ट चलचित्रलाई अवार्ड प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रदर्शन गरिएका चलचित्रसँग सम्बन्धित चलचित्रकर्मी तथा आमदर्शकबीच अन्तरक्रिया गरिने, गाउँले परिवेशमा चलचित्र बनाउने विषयमा वर्कसप हुने र चलचित्रकर्मीबीचमा ग्रामीण चलचित्रको कथा तथा मौलिक चलचित्र निर्माणसम्बन्धी अन्तरक्रिया हुने र उत्कृष्ट चलचित्रलाई जुरी टिमको निर्णयअनुसार अवार्ड प्रदान गरिने सापकोटाको भनाइ छ ।

कार्यक्रम गरिने क्षेत्र लाप्राकको सांस्कृतिक तथा त्यहाँको पर्यटकीय क्षेत्र समेट्ने विभिन्न प्रस्तुतिसमेत रहने जनाइएको छ । नेपाली मौलिक चलचित्र, चलचित्रकर्मी र स्थानीय पर्यटकीयस्थलको प्रचारप्रसार तथा प्रवर्द्धन गर्नु, नेपाली आमदर्शकलाई नेपाली मौलिक चलचित्रप्रति आकर्षित गराउनु र नियमित चलचित्र हेर्ने बानी बसाल्नु, नेपाली समाजका मौलिकता बोकेका र ग्रामीण कथामा बनेका चलचित्रहरूलाई स्वदेशी तथा विदेशी दर्शकमाझ पुर्याउनु र स्थानीय क्षेत्रको भाषा, कला, संस्कृति एवं पर्यटकीय क्षेत्रको प्रवद्र्धन गर्नु महोत्सवको मुख्य उद्देश्य रहेको उनले बताए ।

यस किसिमका महोत्सव तथा चलचित्रसँग सम्बन्धित गतिविधि राजधानी काठमाडौँ तथा मुख्य सहरहरूमा मात्र हुने गरेको सन्दर्भमा ग्रामीण क्षेत्रमा हुने यस महोत्सवले स्थानीयबीच नेपाली चलचित्र र चलचित्रकर्मीप्रतिको चासो र माया बढ्ने, नियमित नेपाली चलचित्र हेर्ने दर्शकको संख्या पनि बढ्ने विश्वास आयोजकको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्