म्यादी प्रहरीका लागि धादिङमा थप ४५७ जनाको आवेदन,आवेदकको सङ्ख्या २५ सय बढि

धादिङ,१० चैत।
स्थानीय तहको निर्वाचनका लागि धादिङ सहित देशव्यापी रूपमा म्यादी प्रहरी भर्ना प्रक्रिया जारी रहेको छ ।आइतबारबाट सुरु भएको दर्ता प्रक्रियामा धादिङमा हालसम्म २ हजार ५२४ जनाले आवेदन दिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवत्ता(डिएसपी) जागेश्वर भण्डारीले जानकारी दिनुभयो।

भर्ना प्रक्रिया सुरु भएको पहिलो दिन आईतबार ५ सय १७ जना, सोमबार ५ सय ८९ जना, मंगलबार ५०९ जना,बुधबार ४५३ जना र बिहिबार ४५७ जनाले दर्ता गरेका भण्डारीले बताउनुभयो।भर्ना प्रक्रिया भोलि ११ गते शुक्रबारसम्म मात्रै हुने प्रवत्ता(डिएसपी) भण्डारीले बताउनुभयो ।धादिङमा एक हजार ४०७ म्यादी प्रहरी भर्ना लिइने जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।

स्थानीय तहको निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्न, उच्च सुरक्षा संवेदनशीलता, मतदान केन्द्रको संख्याको आधारमा निर्वाचनको सुरक्षाकालाई ४० दिनका लागि देशभर १ लाख १९ हजार म्यादी प्रहरी मागिएको छ ।सार्वजनिक बिदा बाहेक यही चैत ६ देखि ११ गतेसम्म भर्नाका लागि दरखास्त दिन सकिने जनाइएको छ । महानगरीय प्रहरी परिसर (काठमाडौं, ललितपुर, भक्तपुर) तथा जिल्ला प्रहरी कार्यालयमा दरखास्त फारम बुझाउन सकिने छ ।

म्यादी प्रहरीले पारिश्रमिक मध्ये ४० दिनको लागि ३० हजार २४० पारिश्रमिक, राशनबापत सात हजार २ सय, पोसाक र अन्य खर्च ६ हजार, यातायात खर्चबापत एक हजार र बिमा सुविधासमेत उपलब्ध गराइने नेपाल प्रहरीको मानवस्रोत एवं प्रशासन विभाग भर्ना छनोट महाशाखाले जनाएको छ।

छनोट प्रक्रिया १५ चैतदेखि, नतिजा प्रकाशन चैत २२ गते गरिने भएको छ । छनोटमा परेका आवेदकलाई चैत २८ बाट प्रशिक्षण दिएर प्रहरीको सहयोगीका रूपमा मतदान स्थल र केन्द्र तथा आवश्यकताअनुसार गस्तीमा खटाइने महाशाखाले जनाएको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्