मासु पसल बन्द गरिएपछि आलोचना

नयाँ दिल्ली, २४ चैत
भारतको राजधानी नयाँ दिल्लीमा अधिकांश  मासु पसलहरू दुई दिनदेखि बन्द छन् । नौ दिनसम्म मनाइने हिन्दूहरुको पर्व नवरात्रिको अवसरमा सथानीय अधिकारीहरुको निर्देशनमा मासु पसल बन्द भएका हुन् । तर, मासु पसल बन्द गर्न दिइएको निर्देशनलाई लिएर त्यसको चर्को आलोचना भएको छ । 

चाडपर्वको समयमा अधिकांश मानिसहरुले मासु नखाने दक्षिण तथा पूर्वी जिल्लाहरुका मेयरहरुले बताएका छन् । नवरात्रीमा पसलमा खुलम खुला मासु काटेको आफूले देख्न नसकेको धेरैले बताएका थिए । तर, समाजिक सञ्जालमा यसको चर्को विरोध भएको छ । यसले भारतको बहुलबाद उल्लंघन गरेको धेरैले गुनासो गरेका छन् । 

महिषासुर र दानवमाथि देवी दुर्गाको विजय उत्सवको रुपमा नवरात्रि मनाइन्छ । नौ दिनको चाडको समयमा हिन्दू भक्तजनहरु सामान्यतया उपवास बस्छन् । उनीहरुले मासु खाँदैनन् भने खानामा लसुन, प्याज प्रयोग गर्दैनन् ।

नयाँ दिल्लीमा मुख्यमन्त्री अरविन्द केजरीवालको आम आदमी पार्टीको सरकार छ । दिल्ली सरकारले मासु पसलहरू बन्द गर्न कुनै आधिकारिक आदेश जारी गरेको छैन । 
११ अप्रिलसम्म पसलहरू बन्द राख्न आह्वान गर्ने मेयरहरू प्रधानमन्त्री नरेन्द्र मोदीको हिन्दू राष्ट्रवादी भारतीय जनता पार्टी (बीजेपी)  का हुन् । तर उनीहरुको आह्वानको तीब्र आलोचना भइरहेको छ । 

सांसद र तृणमूल कंग्रेस पार्टीका नेता महुआ मोइत्राले भने, ‘संविधानले मलाई मन परेको बेला खाना खान अनुमति दिन्छ । ’

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्