इराकबाट सबै अमेरिकी सेना फिर्ता गर्ने ट्रम्पको प्रतिबद्धता

अमेरिकी सेनाको फिर्तीको समयसीमाका बारेमा सोधिएको एक प्रश्नमा अमेरिकी विदेशमन्त्री माइप पोम्पेओले आफ्नो अभियान समाप्त भएलगत्तै इराक छाड्ने बताए । उनले राष्ट्रपतिले इराकमा तैनाथ अमेरिकी सेनाको संख्या कटौती गर्न आदेश दिइसक्नुभएको छ र त्यहीअनुसार काम अघि बढिसकेको जानकारी दिए ।

इराकमा हाल पाँच हजारभन्दा बढी अमेरिकी सैनिक तैनाथ छन् । गत महिना अमेरिकाका वरिष्ट सैनिक जनरलले इराकमा सानो संख्यामा अमेरिकी सैनिक तैनाथ रहने बताएका थिए । अमेरिकी केन्द्रीय कमान्डका कमान्डर जनरल फ्रान्क म्याकेन्जीले इराकी सरकारले अमेरिकी सेनाको उपस्थितिलाई स्वागत गर्ने विश्वास व्यक्त गरेका छन् ।

अमेरिकी समर्थनप्राप्त इराकी प्रधानमन्त्री अल–काधिमी गत मे महिनामा देशको प्रधानमन्त्रीमा नियुक्त भएका छन् । अमेरिका–इरानबीचको शत्रुतापूर्ण सम्बन्धका कारण काधिमीले दुबै देशसँगको सम्बन्धलाई सन्तुलनमा राख्न निकै ठूलो चुनौतीको सामना गर्नु परिरहेको छ ।  इरानको कुनै सन्देश लिएर वासिङ्टन आउनुभएको थियो कि भन्ने प्रश्नमा इराकी प्रधानमन्त्री काधिमीले “आफू अमेरिका भ्रमणमा जाँदा हुलाकी भएर नजाने” बताएका छन् ।

इराक र इरानबीच सांस्कृतिक र धार्मिक सम्बन्ध रहिआएको छ र यसलाई अमेरिकाले मान्यता दिएको छ । तर इराकभित्र इरान समर्थित लडाकूको चलखेल रोक्न अमेरिकाले विगतदेखि नै प्रयत्न गरिरहेको छ ।  बुधबार नै अमेरिकी ऊर्जामन्त्री डान ब्राउलेटले आठ अर्ब डलर बराबरको लगानी गर्न निजी क्षेत्रका अमेरिकी कम्पनीहरुसँग सम्झौता भएको बताएका थिए ।

उक्त सम्झौतामा इराकी इन्धन तथा विद्युत मन्त्री र पाँचवटा अमेरिकी कम्पनीबीच हस्ताक्षर भएको थियो ।  इराकमा लगानी गर्न इच्छुक निजी क्षेत्रका कम्पनीहरुमा हनीवेल, बेकर ह्युजेज, जिई, स्टेलार र चेभरोन रहेका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्