मधेस केन्द्रित र राजावादी दलले जितेका स्थानमा कांग्रेसको दावी, जसपा नछाड्ने पक्षमा 

काठमाडौं, ३ बैशाख ।

तराई मधेस केन्द्रित र राजतन्त्रवादी शक्तिले अघिल्लो निर्वाचनमा विजय हासिल गरेका महानगर र उपमहानगरमा पाँच दलीय गठबन्धनको प्रमुख राजनीतिक दल नेपाली कांग्रेसले मेयर र उपमेयर पाउनु पर्ने दावी प्रस्तुत गरिरहेको छ ।

पाँच दलीय गठबन्धनमा महानगर र उपमहानगरको भागबन्डा केन्द्रबाट गर्ने निर्णय भईरहेको बेला तराई मधेस केन्द्रित राजनीतिक दल र राजतन्त्रवादी शक्तिले विजयी हासिल गरेका स्थानमा कांग्रेसले दावी प्रस्तुत गरिरहेको हो । 

राजतन्त्रवादी शक्ति तत्कालिन राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले विजयी हासिल गरेको बाँकेस्थित नेपालगञ्ज महानगरपालिकामा नेपाली कांग्रेसले दावी नछाडेपछि जनता समाजवादी पार्टी (जसपा नेपाल) गठबन्धनवाट नै बाहिरिएको छ । जसपा नेपाल जिल्ला अध्यक्ष कमरुद्धिन राईले जसपालाई नेपालगञ्ज छाड्न कांग्रेसले नमान्दा गठबन्धनवाट बाहिरिनु परेको जनाएका छन् । 

उनका अनुसार नेपालगञ्जमा अब जसपा नेपालले एक्लै निर्वाचन लड्नेछ । राप्रपाबाट विजयी मेयर धवलशमशेर राणाले पुनः उम्मेदवारी नदिने घोषणा गरेको तथा नेकपा एमालेबाट नवप्रवेशी पशुपतिदयाल मिश्र मेयरको उम्मेदवार भएपछि गठबन्धनभित्र मुख्यतः जसपा र कांग्रेसबीचमा मनमुटाव हुन पुगेको हो ।

उता, पाँच दलीय गठबन्धनको केन्द्रीय निर्णयअनुसार पर्सास्थित वीरगञ्ज महानगरपालिका जसपालाई दिने ‘सैद्धान्तिक सहमति’ भए पछि कांग्रेसको स्थानीय नगर कमिटी बिच्किन पुगेको छ । 

वीरगञ्ज महानगर समितिका सभापति मनिन्द्रलाल श्रेष्ठले वीरगञ्जमा कांग्रेसको स्वभाविक दावी रहेको उल्लेख गर्दै पाँच दलीय गठबन्धनबाट बाहिरिएर एक्लै निर्वाचनमा जाने निर्णय गराइसकेका छन् । केन्द्रीय निर्णयअनुसार गठबन्धन गर्ने कि नगर्ने भन्ने विषयमा वीरगञ्ज महानगरका ३२ वटै वडाबाट गठबन्धनको विपक्षमा सुझाव आएको उल्लेख गर्दै महानगर सभापति श्रेष्ठले कांग्रेसले एकल उम्मेदवारी दिने घोषणा गरेका छन् । जसकाकारण जसपाले जितेको स्थानमा कांग्रेसको दावी स्पष्ट देखिएको छ ।

तत्कालिन जसपा नेपालबाट निर्वाचित मेयर विजय सरागवी एमाले प्रवेश गरे पनि गठबन्धनको केन्द्रिय सहमतिअनुसार सो स्थानमा जसपाको नै भागबन्डामा परेको छ । तर, जसपाको भागबन्डामा परेको कांग्रेसले मेयर र उपमेयरमा दावी गर्दै सोअनुसार दिन गठबन्धनका अन्य दल तयार नभएको खण्डमा गठबन्धन नै नगर्ने निर्णय गराएर दबाब बढाइसकेको छ ।

तत्कालिन राष्ट्रिय जनता पार्टी नेपालले विजयी हासिल गरेको जनकपुरधाम उपमहानगरपालिकामा कांग्रेसले दावी गरेको छ । हाल महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा नेपाल)ले नेतृत्व गरेको जनकपुरधाममा कांग्रेसले दावी गर्दै नपाएको खण्डमा एकल रुपमा उम्मेदवारी दर्ता गराउने भएको छ । 

नगर समितिका सभापति मनोजकुमार साहका अनुसार पाँच दलीय गठबन्धनको राजनीतिक संयन्त्रमा जनकपुरधाम कांग्रेसले पाउनु पर्ने दावी प्रस्तुत गरिसकेका छन् । ‘वडा अध्यक्ष र सदस्यमा गठबन्धन आवद्ध दलका बीचमा सहमति गरेर जान सकिने भए पनि मेयर र उपमेयर भने कांग्रेसले पाउनु पर्छ,’ साहले भनेका छन्, ‘यदि हँुदैन भने जनकपुरमा मेयर उपमेयरसहित २५ वटै वडामा कांग्रेसले एकल उम्मेदवारी दिनेछ, हामीलाई जित्न गठबन्धन चाहिँदैन् ।’ जनकपुरमा अझैसम्म मेयर र उपमेयरको उम्मेदवारी घोषणा भइसकेको अवस्था छैन । 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्