जसको सिको गर्दै गाउँनै तरकारी खेतीमय बन्यो 

खोटाङ, ३ बैशाख ।

१८ वर्षअघि व्यवसायिक रुपमा तरकारी खेतीमा लाग्दा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेको बाँझघरेका ईन्द्र श्रेष्ठलाई छिमेकीलेनै पत्याएका थिएनन् । बजारबाट तरकारी ल्याएर खाने गरिन्थ्यो तर त्यही तरकारी आफ्नै बारीमा फलाउन सकिन्छ भन्नेमा कसैको ध्यान गएको थिएन ।

त्यो बेला कृषिविज्ञ मदन राई र सूर्यबहादुर राईको नेतृत्वमा खाल्लेको नाहिमा कृषि श्रोत केन्द्र सञ्चालन थियो । नाहिमा हाल शुभम् फाउण्डेसन (दिक्तेल रुपाकोट मझवागढी नगरपालिका–२ सोल्मा)को रुपमा सञ्चालनमा छन् । त्यही कृषि श्रोत केन्द्र पुगेर व्यवसायिक तरकारी खेतीसम्बन्धी तालिम लिएर श्रेष्ठले बारीमा कृषि कर्म सुरु गरे । 

गोलबेँडा, तिते करेला, फर्सी, काँक्रोलगायत तरकारी फलाउन थालेपछि भने ईन्द्रलाई छिमेकीले पत्याउन थाले । उनको बारीमा उत्पादित तरकारी दिक्तेल बजार पुग्न थाल्यो । तरकारी बिक्रीबाट राम्रो आम्दानी गर्न थाले । बिस्तारै छरछिमेकमा उनको सिको सुरु भयो । घर–घरमा तरकारी खेती हुन थाल्यो । 

हाल खाल्ले बाँझघरेका स्थानीयले तरकारी खेतीलाई आम्दानीको माध्यम बनाएका छन् । बाँझघरेमा १७ घरपरिवारको बसोबास छ । यी सबै घरमा तरकारी खेती हुन्छ । तरकारी बिक्रीबाट किसानले मासिक ३५–४० हजार आम्दानी गर्छन । तरकारी खेतीबाटै घर खर्च टरिरहेको स्थानीय सूर्योदय कृषक समूहका अध्यक्ष टंक श्रेष्ठ बताउँछन् । 
तरकारीसँगै मौरीपालन 
अगुवा किसान ईन्द्र श्रेष्ठ तरकारी खेतीमा मात्र सिमित भएनन् । उनले व्यवसायिक रुपमा मौरी पालन पनि सुरु गरे । हाल वार्षीक ५० देखि ६० केजी मह बिक्री हुने गरेको श्रेष्ठ बताउँछन् । उनको घर वरपर मौरीका १७ घार छन् । मौरी पालनबाट राम्रो आम्दानी गर्न सकिने सम्भावना भएकाले घार थप्ने योजना बनाएको श्रेष्ठ बताउँछन् । मौरीपालन भने ६–७ वर्षअघि मात्र सुरु गरिएको हो ।

मौरी पालनका लागि उनले आफैले मौरीको घार निर्माण गर्ने गरेका छन् । हाल उनले नयाँ २५ घार तयारी अवस्थामा राखेका छन् । मौरी पालनलाई थप वृहत बनाउन उनका छोरा इटहरी पुगेर तालिम लिएर फर्किसकेका छन् । 

मौरीको घार हेरचाह गर्दै इन्द्र श्रेष्ठ । 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्