तिनै तहको निर्वाचनपछि नेकपा(एस) एमाले भन्दा ठुलो दल बन्छ : गुरु बुर्लाकोटी

धादिङ,०६ बैशाख।

नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) पार्टीका नेता तथा संविधान सभा सदस्य गुरु प्रसाद बुर्लाकोटीले तिनै तहको निर्वाचन पछि आफ्नो दल एमाले भन्दा ठुलो बन्ने दावी गर्नुभएको छ ।

नीलकण्ठ एफ.एमबाट प्रसारण हुने चर्चित कार्यक्रम चुनावी बहस कार्यक्रममा पत्रकार रामकुमार थापासँग कुरा गर्दै आफ्नो दल एमाले भन्दा पनि ठुलो हुने दावी गर्नुभएको हो ।

नेकपा एमालेको संगठन विस्तार गर्ने नेताहरुनै समाजवादी पार्टीमा लागेको भन्दै उहाँले देशभरको माहोल हेर्दा आफ्नो पार्टी एमालेभन्दा ठुलो हुने बताउनु भएको हो । संविधानको रक्षा गर्न र अहिले सम्म प्राप्त उपलब्धीहरुको रक्षा गर्नको लागि गठबन्धन गर्नुपरेको बताउनुभयो ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा दास बनाउन खोजेको भन्दै बुर्लाकोटीले दास बन्नेकी नयाँ पार्टी खोलेर बस्ने भन्ने विषय रोज्दा आफुहरुले नेकपा(एस) स्थापना गर्नुपरेको तर्क राख्नुभयो ।

धादिङको वडा स्तरमानै नेकपा(एस)को संगठन विस्तार भएको भन्दै निर्वाचनमा सुखद नतिजा आउने पनि दावी गर्नुभयो ।आफु संविधान सभा सदस्य हुँदा जिल्लाको मुख्य ६ वटा सडकहरु पिच गर्ने कार्य सुरु भएको पनि बताउनुभयो ।

आफुहरुले जिल्लाको मुहार फेर्नेगरी काम गर्ने लक्ष्य रहेको भन्दै उहाँले लामिडाँडा सडकलाई पनि बैकल्पिक मार्गको रुपमा विस्तार गर्नको लागि आफुले पहल गरीरहेको बताउनुभयो ।

कुरा गर्ने भन्दा पनि काम गर्ने नेतृत्व आवश्यक रहेको भन्दै उहाँले नेकपा(एस) ले राम्रो, विकास गर्न सक्ने र जनतामाझ भिजेको नेतालाई टिकट दिने बताउनुभयो। आगामी बैशाख ३० गते हुने निर्वाचनमा हाम्रोलाई भन्दा पनि राम्रो पार्टी र उम्मेदवारलाई मत दिएर बिजयी गराउनको लागि पनि अपिल गर्नुभएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्