तिप्लिङ पहिरोम डोजरसँगै पुरिएका २ जनाको शव ३ महिनापछि फेला

धादिङ,०७ बैशाख।
सडकको नयाँ ट्र्याक खन्ने क्रममा डोजरसहित पहिरोमा पुरिएकाहरुको शव ३ महिनापछि फेला परेको छ ।

उत्तरी धादिङको बिकट वस्ती रुविभ्याली गाउँपालिका–१ तिप्लिङको लिङ्जोमा पहिरोमा पुरिएका २ जनाको शव आज फेला परेको धादिङका प्रहरी नायव उपरिक्षक जागेश्वर भण्डारीले बताउनुभयो ।

डोजरसहित पहिरोमा पुरिएका डोजर चालक मकवानपुरका पूर्णबहादुर रुम्बा र स्थानीय धन तामाङको शव सडेगलेको अवस्थामा फेला परेको हो । कपडाको आधारमा शव पहिचान गरिएको छ । खोलामा पुरिएको डोजरसँगै दुवै जनाको शव भेटिएको भण्डारीले जानकारी दिनुभयो । गत पुस २९ गतेको पहिरोमा ३ जना पुरिएका थिए ।

त्यसमध्ये सहचालक राजु तामाङ २ दिनपछि भेटिएका थिए । ढुंगामाटो पन्छाउँदै डोजरका सामानहरू निकाल्ने क्रममा गन्ध आउन थालेपछि खोतल्दै जाँदा टाउको र शरीरका हाड र मासु कुहिसकेको अवस्थामा भेटिएको प्रहरी नायव उपरिक्षक भण्डारीले बताउनुभयो ।

चालक रुम्बाको शव लिन आफन्त आउँदै गरेको र तामाङको शव उनका आफन्तलाई जिम्मा लगाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।(फाइल तस्विर)

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्