एकीकृत समाजवादी मकवानपुरका अध्यक्ष पोखरेलले दिए राजीनामा

हेटौंडा, १४ वैशाख ।

नेकपा (एकीकृत समाजवादी) मकवानपुरका अध्यक्ष श्रीधर पोखरेलले पार्टी परित्याग गरेका छन् । हेटौडामा बुधबार पत्रकार सम्मेलन गर्दै उनले पार्टीको सदस्यसमेत नरहने गरी राजीनामा दिएका हुन् ।

उनले गठबन्धनको नाममा कम्युनिष्ट आन्दोलनलाई समाप्त गर्ने गरी षड्यन्त्र भएकोले पार्टी परित्याग गरेको बताएका छन् । निर्वाचन पश्चात देशव्यापी रूपमा पार्टी कमजोर हुने र नेपालको कम्युनिष्ट आन्दोलन समेत क्षतविक्षत हुने ठहर गरिएको विज्ञप्तिमा उल्लेख छ ।

पोखरेलको नाम हेटौंडा उपमहानगरपालिकाको मेयरको लागि सिफारिस पनि भएको थियो । पछि नेकपा एसबाट गठबन्धनको लागि मीना लामा उम्मेदवार बनेकी थिइन् ।

उनीसँगै जिल्ला सचिवालय सदस्य वीरेन्द्र डीसीले पनि पार्टी परित्यागको घोषणा गरेका छन् । पोखरेल र डीसी नेकपा एमाले विभाजन भएपछि नेकपा एसमा आबद्ध भएका थिए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्