प्राकृतिक श्रोत संरक्षणकर्ता देखि गाउँपालिकाको उपाध्यक्ष उम्मेदवारसम्म

गजुरी,१६ बैशाख।
प्राकृतिक श्रोतको संरक्षणमा आफ्नो जीवन सर्मपित गर्नुभएकी भगवती खतिवडा गजुरी गाउँपालिकाको उपाध्यक्ष पदको उम्मेद्वार बन्नुभएको छ। उहाँले सामुदायिक बन उपभोक्ता महासंघमा रहेर बन, वातावरण र प्राकृतिक श्रोतको संरक्षण गर्दै महिलाको जीवन परिर्वतनको लागि काम गर्नुभएको थियो ।

उहाँले आफ्नो विगत सम्झदै भन्नुभयो “मेरो सामाजिक रुपान्तरणको अभियान यात्रा सामुदायिक बन मार्फत भएको हो । पछि म आमा समुह सञ्जाल संग पनि जोडिएँ ।त्यसपछि महिलाहरुको सशक्तिकरण र सामाजिक परिवर्तनको लागि काम गरे । ”

२०४१ साल माघ १९ गते साविकको कल्लेरी गाविस वडा नम्बर १ मा जन्मनुभएकी भगवती खतिवडाको राजनीतिक यात्राको शुरुवात चै विद्यालय तह देखि नै भएको हो । बागेश्वरी माध्यमिक विद्यालय बैरेनीमा पढ्दा २०५६ सालमा अनेरास्ववियूको प्रारम्भिक कमिटीमा बस्नुभएको थियो । एस एल सि दिएपछि उहाँको साविकको किरान्चोक गाविसमा विवाह भयो र पढाइ पनि रोकियो ।

आफ्नो राजनीतिक यात्रा बारेमा भन्नुहुन्छ ः “विवाह भएपछि केही समय रोकियो । तर घरपरिवार राजनीतिक पृष्ठभूमिको हुनुभएकाले मलाई अगाडी बढ्न मद्दत गर्नुभयो । २०५८ सालदेखि रोकिएको राजनीतिक यात्रा २०६४ सालमा आएर शुरु भयो । २०६४ सालमा किरान्चोक गाउँ पार्टी कमिटिको सदस्यमा आवद्ध भएँ । २०६४ सालदेखि निरन्तर पार्टीमाकामगर्दै आएर हाल गजुरी गाउँ पार्टी कमिटीको उपाध्यक्षको रुपमा कार्यरत छु ।”

महिलाहरुको जीवनस्तरमा परिवर्तन भएमात्रै समाजको परिवर्तन हुन्छ मान्यतामा अडिग रहनुभएकी खतिवडा सामुदायिक बन उपभोक्ता समुह, आमा समुह, महिला समुहमा नेतृत्व गर्दै समाजको हानिकारक प्रथा परंपराको विरुद्ध काम गर्नुभयो । लैगिंक समानता, विकास र सशक्तिकरणको लागि पैरवीको काम गर्नुभयो । संगसंगै उहाँले शिक्षण पेशापनि गर्दै आउनुभएको छ ।

नेकपा एमालेको गजुरी गाउँपालिको उपाध्यक्षको उम्मेद्वार रहनुभएकी खतिवडाले आफु निर्वाचित भएमा गजुरी गाउँपालिकाको विकास र समृद्धिको लागि काम गर्ने बताउनुभयो । शिक्षा, स्वास्थ्य , रोजगारी र सशक्तिकरणको मुद्दालाई प्राथमिकतामा राखेको बताउनुभयो ।

आफु उपाध्यक्ष पदमा निर्वाचित भएमा पाठेघर खसेका महिलाहरुका लागि वडा वडामा निशूल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने , बालुवा खानीमा काम गर्ने श्रमिक हरुलाई वैकल्पिक रोजगारीमा जोड्ने, भूमिहिनहरुको पहिचान गरि व्यवस्थापनको काम गर्ने, चेपाङ किशोरी र बालबालिका हरुलाई भत्ता दिने, सवै वडा कार्यालय सम्म पुग्ने सडक कालोपत्रे गर्ने लगायतको घोषणा गर्नुभएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्