बीस दिनमा विपद्का घटनाबाट १८ जनाको मृत्यु, २८ करोडभन्दा बढीको आर्थिक क्षति 

काठमाडौं, २१ वैशाख । 

वर्ष २०७९ सुरु भएपछिको २० दिनमा देशभर विपद्का घटनामा परी १८ जनाको मृत्यु भएको छ । 

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यस्थापन प्राधिकरणका अनुसार विपद्का घटनाले यस वर्षको पहिलो २० दिनमा २८ करोड २२ लाख ६४ हजार १०० रुपैयाँ बराबरको आर्थिक क्षति गरिसकेको छ । 

वैशाख १ देखि २० गतेसम्मको अवधिमा देशभर ३४६ वटा विपद्का घटना रेकर्ड गरिएको प्राधिकरणले जनाएको छ । 

उक्त अवधिमा सबैभन्दा बढी आगलागीका घटना भएका छन् । पछिल्लो २० दिनमा आगलागीका २३३, जंगल आगलागीका ४२, हावाहुरीका ३४, चट्याङका २४, जनावरको आक्रमणका ९ वटा घटना रेकर्ड गरिएको थियो । 

विपद्का घटनामध्ये आगलागीमा परी ८, चट्याङ लागेर ६, जनवारको आक्रमणबाट २ र पहिरो र हावाहुरीका घटनामा परी एक÷एक जनाको मृत्यु भएको प्राधिकरणले बताएको छ ।  विपद्का घटनामा परी ७९ जना घाइते भएका छन् भने ४७३ परिवार प्रभावित भएका छन् । 

विपद्का घटनामध्ये सबैभन्दा ठूलो आर्थिक क्षति आगलागीले गरेको छ । प्राधिकरणको तथ्याङ्कअनुसार पछिल्लो बीस दिनमा आगलागीबाट २६ करोड ३७ लाख ९१ हजार ६ सय रुपैयाँ, जंगल आगलागीबाट १ करोड ५ लाख ७० हजार रुपैयाँ, हावाहुरीबाट ७१ लाख ४० हजार रुपैयाँ, चट्याङबाट ४ लाख १३ हजार रुपैयाँ र जनावरको आक्रमणबाट ३ लाख ४९ हजार ५ सय रुपैयाँ बराबरको आर्थिक क्षति भएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्