बाबुराम चुनावी अभियानमा गोरखा केन्द्रित

काठमाडौं, २४ वैशाख

जनता समाजवादी पार्टी (जसपा)का सङ्‍घीय  परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई स्थानीय तह निर्वाचनमा गृह जिल्ला गोरखामा केन्द्रित भएका छन् ।

आज बिहानैदेखि उनी पालुङटार नगरपालिकाको वडा नम्बर–६ मा घरदैलो अभियानमा जुटेका छन् ।

‘जसपा दलित नेता लालबहादुर विकको घरमा बिहानको चियापान गरेर पानपा–६ को घरदैलो अभियानतिर लागियो’, भट्टराईले ट्‍वीटरमा लेखेका छन् । 
उनले ठूलो सभाभन्दा गाउँ टोलका अन्तरक्रियात्मक भेटघाट बढी रोचक र उपयोगी लागेको पनि बताए । 

यसअघि हिजो सोही नगरपालिकाको बाह्रपिर्के, एअरपोर्टलगायत स्थानमा भट्टराई घरदैलो अभियानमा सरिक भएका थिए । उनीसँगै पत्नी हिसिला यमी पनि अभियानमा छिन् । 

पार्टी अध्यक्ष उपेन्द्र यादव पनि गृह जिल्ला मोरङसहित मधेस प्रदेशका जिल्लाको चुनावी अभियानमा छन् । 

जसपा पाँच दलीय गठबन्धनको एउटा घटक हो । गठबन्धनमा रहेका अन्य दलहरू नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवादेखि नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी गठबन्धनका संयुक्त चुनावी सभामा सहभागी हुँदै आएका छन् । 

तर, जसपा अध्यक्ष यादवसँगै उक्त पार्टीका सङ्‍घीय परिषद् अध्यक्ष भट्टराई भने संयुक्त चुनावी सभामा सहभागी भएका छैनन् । 

भट्टराईको त गठबन्धन दलहरूबीच भएको तालमेलको विषयमा पनि असन्तुष्टि छ ।   

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्