आइसियु र भेन्टिलेटरका लागि मन्त्रालयले अस्पतालहरुमा पठायो करोडौं बजेट (कुन अस्पताललाई कति ? )

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना उपचारका लागि देशका विभिन्न अस्पतालमा करोडौं रकम पठाएको छ । मन्त्रालयले आइसियु र भेन्टिलेटर सहित अन्य व्यवस्थापनका लागि अस्पतालहरुमा बजेट पठाएको हो।

कोशी अस्पताल, नारायणी अस्पताल, भरतपुर अस्पताल, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, भेरी अस्पताल र डडेलधुरा अस्पतालमा ५ वटा भेन्टिलेटरसहित १५ वटा आइसियुको व्यवस्थापनका लागि प्रति अस्पताल ३ करोड रुपैयाँ बजेट पठाइएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए।मन्त्रालयले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ४ वटा भेन्टिलेटर र १० वटा आइसियुका लागि दुई करोड रुपैयाँ बजेट पठाइएको जानकारी दिएको छ। ३४ भेन्टिलेटर र १०० आइसियुका लागि २० करोड बजेट विभिन्न अस्पतालमा पठाइएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको गत भदौ २१ गतेको कोभिड कोष निर्णय अनुसार मार्फत त्रिवि शिक्षण अस्पताललाई १० भेन्टिलेटर र १४ आइसियुका लागि लागि ५ करोड ७५ लाख रुपैयाँ बजेट पठाइएको छ । धुलिखेल अस्पतालमा ५ भेन्टिलेटर र १४ आइसियुका लागि २ करोड ८५ लाख रुपैयाँ पठाइएको छ । त्यसैगरी, प्रहरी अस्पतालमा भेन्टिलेटरसहित २० आइसियुका लागि ८ करोड ४० लाख रुपैयाँ पठाइएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार प्रदेश अन्र्तगतका धनकुटा अस्पताल, पाँचथर अस्पताल, सर्लाही अस्पताल, गौर अस्पताल, नुवाकोट अस्पताल, धादिङ अस्पताल, दमौली अस्पताल, कपिलवस्तु अस्पताल, अर्घाखाँची अस्पताल, महाकाली अस्पताल, टीकापुर अस्पताल, कालिकोट अस्पताल र सल्यान अस्पतालमा ४ वटा भेन्टिलेटर र १० वटा आइसियुका लागि दुई÷दुई करोड रुपैयाँका दरले २८ करोड रुपैयाँ पठाइएको छ ।

अन्य व्यवस्थापनका लागि जाजरकोट र दैलेख अस्पतालका लागि उपकरण खरिदका लागि ५० लाखका दरले एक करोड रुपैयाँ पठाइएको छ। त्यसैगरि, सहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रका लागि कोभिड १९ सँग सम्बिन्ध उपकरण खरीदका लागि १ करोड रुपैयाँ, राष्ट्रिय अनुसन्धान परिषदुलाई अनुसन्धानका लागि २ करोड रुपैयाँ पठाइएको जनाएको छ। अस्पताल निर्माण भइनसकेका स्थानीय तहमा पाँच बेडको अस्पताल निर्माणका लागि ६ सय ४९ स्थानीय तहमा १० लाखको दर ६४ करोड ९० लाख रुपैयाँ निकासा दिइएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्