जिउँदो सालकसहित सिद्धलेक धादिङका २ जना पक्राउ

लोकन्थलीबाट जिउँदो सालकसहित धादिङका २ जना पक्राउ परेका छन् । बुधबार मध्यपुर थिमि १ लोकन्थलीबाट भक्तपुर प्रहरीले धादिङको सिद्धलेक गाउँपालिका–३, झार्लाङदी घर भई हाल काठमाण्डौं कपुरधारा बस्ने २७ वर्षीय ध्रुवबहादुर मगर र झार्लाङदी घर भई काठमाण्डौं लैनचौर बस्ने ३१ वर्षीय भीमबहादुर मगरलाई पक्राउ गरेको हो ।

अनुसन्धानको क्रममा भीमबहादुर सशस्त्र प्रहरीमा कार्यरत रहेको समेत बुझिएको छ। उनीहरुलाई युरिया मलको सेतो बोरामा सालक बोकी हिँडिरहेको अवस्थामा लोकन्थलीबाट महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी निरीक्षक सुदन के।सी। नेतृत्वको टोलीले पक्राउ गरेको हो। लोकन्थलीमा दुई जना व्यक्तिले जिउँदो सालक बोकी हिँडीरहेको भन्ने विशेष सूचनाका आधारमा अनुसन्धान गर्दा उनीहरु पक्राउ परेको परिसरका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक दीपक गिरीले बताउनुभयो ।

प्रहरीले उनीहरुको साथबाट ग्लोबल आई।एम।ई। बैंकको चेक बुक २ थान, नागरिकता प्रमाण पत्र, पेनड्राइभ, विभिन्न बैंकका भौचर, राजश्व तिरेको रसिद, मोवाइल ४ थान, एभरेष्ट बैंकमा नगद जम्मा गरेको भौचर, सवारी चालक अनुमति पत्र, व्यक्तिगत नं। ०४८९१२ भएको सशस्त्र प्रहरी बलको परिचय पत्र, राष्ट्रिय बाणिज्य बैंकको कार्ड र सिदार्थ बैंकको एटिएम कार्ड एक थान समेत बरामद गरेको प्रनाउ गिरीले जानकारी दिनुभयो। पक्राउ परेका दुवै जनालाई प्रारम्भिक अनुसन्धान पश्चात डिभिजन वन कार्यालय भक्तपुरमा बुझाइने प्रहरीले जनाएको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्