जन्मदिनको अवसरमा विद्यार्थीलाई न्यानो कपडा वितरण

सिद्धलेक गाउँपालिकाको वडा नं। १ चरिमारेमा रहेको नलाङ माध्यमिक विद्यालयमा अध्ययनरत १७ जना विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ । विद्यालयका प्रधानाध्यापक अर्जुन प्रसाद सिलवालले आफ्नो छोरा अमित सिलवालको १७ औँ जन्मदिनको अवसर पारेर विद्यालयमा अध्ययनरत १७ जना बालबालिकालाई जाडोका लागि न्यानो कपडा प्रदान गर्नु भएको हो ।

सिद्धलेक गाउँपालिका वडा नं। १ का वडा अध्यक्ष चन्द्र प्रसाद सिलवालको प्रमुख आतिथ्यमा शुक्रबार विद्यालयमा एक कार्यक्रमको आयोजना गरी लगनशिल, जेहन्दार तथा अनुशासित १७ जना विद्यार्थीलाई कपडा हस्तान्तरण गरिएको हो । कार्यक्रममा बोल्दै वडा अध्यक्ष सिलवालले जन्मदिनमा केक काटेर चकलेट बाँडेर फजुल खर्च गर्नु भन्दा यसरी जन्मोत्सवलाई सदुपयोग गर्दै सहयोग गर्नु प्रशंसनीय भएको बताउनु भयो । साथै वडा अध्यक्ष सिलवालले यस्तो कार्यबाट आगामी दिनमा अन्य शिक्षक शिक्षिका तथा विद्यार्थीलाई समेत राम्रो प्रेरणा मिल्ने बताउनु भयो ।

यसअघि सोहि विद्यालयमा कार्यरत शिक्षक पार्वती ढकालले आफ्नी छोरी प्रिन्सु न्यौपानेको जन्मदिनको अवसर पारी विद्यालयमा प्राथमिक तहमा अध्ययनरत १०० जना विद्यार्थीका लागि दिवा खाजामा प्रयोग हुने प्लेट सहयोग गर्नुभएको थियो । साथै अर्का शिक्षक आइती घलेले पनि आफ्नो छोरा साङ्साङको जन्मदिनमा १० जना बालबालिकालाई न्यानो कपडा वितरण गर्नुभएको विद्यालयका प्रधानाध्यापक अर्जुन प्रसाद सिलवालले जानकारी दिनुभयो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्