पाँचदेखि ११ वर्ष उमेर समूहका बालबालिकालाई ‘फाइजर’ खोप लगाइने

धादिङ,२१ जेठ।

पाँच वर्षदेखि ११ वर्ष उमेर समूहका बालबालिका ‘फाइजर’ खोप लगाइने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले भिडियोमार्फते बालबालिकालाई खोप प्रदानका गर्न दुई चरणमा खोप अभियान सञ्चालन हुने जानकारी दिनुभयो ।

पहिलो चरणमा २७ जिल्लामा असार ९ गतेदेखि १५ गतेसम्म पहिलो मात्रा र सोही समूहलाई दोस्रो मात्रा साउन २ देखि ८ गतेसम्म सञ्चालन गरिने छ । यस्तै दोस्रो चरणमा ५० जिल्लामा भदौ ५ देखि ११ गतेसम्म पहिलो मात्रा र सोही समूहलाई दोस्रो मात्रा भदौ २७ देखि असोज १ गतेसम्म सञ्चालन गरिने छ ।

प्रत्येक विद्यालयमा खोप केन्द्र तोकी पाँच वर्षदेखि ११ वर्ष उमेर समूहका ३९ लाख बालबालिकालाई ‘फाइजर’ खोप लगाइने मन्त्री खतिवडाले जानकारी दिनुभयो ।

अनुसन्धानअनुसार खोप सुरक्षित रहेकाले सबै अभिभावकलाई आफ्ना बालबालिकालाई खोप लगाउनका लागि उहाँले अनुरोध गर्नुभएको छ ।
नेपालमा अहिलेसम्म पाँच करोड ३३ लाख मात्रा खोप भित्रिसकेको छ । बाह्र वर्षभन्दा माथिका ८५ प्रतिशतलाई पहिलो, दोस्रो र बुष्टर मात्रा खोप प्रदान गरिसकेको र ९६ प्रतिशतलाई पहिलो मात्रा खोप लगाइसकेको उहाँले जानकारी दिनुभयो । सम्पूर्ण नागरिकलाई खोप लगाउनका लागि सरकार प्रतिबद्ध रहेको उहाँको भनाइ छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्