विषयगत रुपमा जोडिदै सिद्धलेकका शिक्षकहरु

सिद्धलेक गाउँपालिका भित्रका सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरु विषयगत रुपमा जोडिन सुरु गरेका छन् । सिद्धलेक गाउँपालिका शिक्षा, यूवा तथा खेलकुद शाखाको आयोजना तथा समन्वयमा पालिका भित्रका सामुदायिक विद्यालयमा कार्यरत नेपाली, अंग्रेजी, गणित, विज्ञान तथा सामाजिक विषयका शिक्षकहरु विषयगत रुपमा सञ्जाल निर्माण गरी एक अर्कामा जोडिएका हुन् ।

सिद्धलेक गाउँपालिका कार्यालय बुङचुङमा गत सोमबारदेखि अलग अलग रुपमा विषयगत शिक्षकहरुको भेला भएको हो । जस अन्तरगत पहिलो दिन सोमबार पालिका भित्रका सामुदायिक विद्यालयमा कार्यरत अंग्रेजी विषय शिक्षकहरुको भेला भएको थियो । उक्त भेलाले सत्यवती माविका शिक्षक सिताराम सिलवालको संयोजकत्वमा ७ सदस्यीय अंग्रेजी विषय समिति गठन गरेको छ । यसैगरी भेलाको दोस्रो दिन मंगलबार गणित विषयका शिक्षकहरुको उपस्थिति रहेको थियो जसमा कालिदेवी माविका शिक्षक बाबुराम तामाङको संयोजकत्वमा ७ सदस्यीय गणित विषय समिति गठन भएको छ ।

भेलाको तेस्रो दिन बुधबार महाकाली माविका शिक्षक विजय खतिवडाको संयोजकत्वमा ७ सदस्यीय विज्ञान विषय समिति गठन भएको छ । त्यसैगरी बिहिबार चौथो दिन नेपाली विषयका शिक्षकहरुको भेला रहेको थियो । जुन भेलाले नलाङ माविका शिक्षक विष्णु प्रसाद अर्यालको संयोजकत्वमा ७ सदस्यीय नेपाली विषय समिति गठन गरेको छ ।भेलाको अन्तिम दिन शुक्रबार पालिका भित्रका विद्यालयमा कार्यरत सामाजिक विषयका शिक्षकहरुको उपस्थिति रहेको थियो जसमा सिद्धेश्वर माविका शिक्षक माधव प्रसाद भट्टराईको संयोजकत्वमा ७ सदस्यीय सामाजिक विषय समिति गठन भएको सिद्धलेक गाउँपालिका शिक्षा, यूवा तथा खेलकुद शाखामा कार्यरत शैक्षिक सहजकर्ता बलराम अधिकारीले जानकारी दिनुभयो ।

सहजकर्ता अधिकारीका अनुसार शिक्षा तथा मानवस्रोत विकास केन्द्रको आर्थिक वर्ष २०७७र०७८ को कार्यक्रम कार्यान्वयन पुस्तिकामा व्यवस्था भए बमोजिमको कार्यक्रम अन्तरगत हाल पहिलो चरणमा माध्यमिक तह तथा कक्षा ६–८ मा कार्यरत मुख्य ५ विषयका शिक्षकहरुको भेला भएको हो । आगामी दिनमा पालिका आफैले आधारभूत तह कक्षा १–५ मा कार्यरत शिक्षकहरुको पनि भेला गर्ने योजना रहेको सहजकर्ता अधिकारीको भनाइ छ ।

विषयगत रुपमा गठन भएको समितिले पालिका भित्रका सबै विद्यालयमा कार्यरत उक्त विषयका शिक्षकहरुसंग शैक्षिक अन्तरक्रिया गर्ने, दैनिक कक्षाकोठामा शिक्षणका क्रममा भोग्नुपर्ने सहज तथा असहज कुराहरु एक अर्कामा साटासाट गर्ने योजना बनाइएको सामाजिक विषय समितिका संयोजक माधव प्रसाद भट्टराईले बताउनु भयो । यसका साथै विभिन्न समयमा भर्चुअल तथा भौतिक उपस्थितिमा विषयगत भेला सञ्चालन गर्ने उद्देश्य समेत राखिएको संयोजक भट्टराईको भनाइ छ ।

यसरी शिक्षकहरु विषयगत रुपमा जोडिँदा एक अर्काका शैक्षिक समस्याहरु हल गर्न सहज हुने अर्का विज्ञान विषयका विषयगत समिति सदस्य सुनिल थापा मगरको भनाई छ । नलाङ माविमा माध्यमिक विज्ञान शिक्षकका रुपमा कार्यरत थापामगर भन्नुहुन्छ, ‘दैनिक रुपमा कक्षाकोठामा शिक्षणका क्रममा हामीले विभिन्न कठिनाईहरु भोगिरहेका हुन सक्छौँ । त्यस्ता समस्याहरु एक अर्का शिक्षकहरुबिच सेयरिङ गर्न सकियो भने त्यसलै हाम्रो शिक्षणलाई झनै प्रभावकारी बनाउन सक्छ।’

सिद्धलेक गाउँपालिका शिक्षा, यूवा तथा खेलकुद शाखामा कार्यरत प्राविधिक सहायक रामेश्वर पुडासैनी पनि यस्तो विषयगत भेला तथा सञ्जाल गठन हुनुले अझै गुणस्तरीय शिक्षा प्रदान हुनेमा आशा व्यक्त गर्नुभयो । विषयगत समितिले आ–आफ्ना विषयमा पठनपाठनका साथसाथै परीक्षा तथा मूल्याङ्कन जस्ता पक्षमा पनि एकरुपता कायम गर्न सघाउ पुग्ने पुडासैनीको धारणा छ । भेलामा वैकल्पिक सिकाइ सहजीकरणका अनुभव आदान प्रदान, परीक्षा तथा अतिरिक्त मूल्याङ्कनका विधिबारेमा पनि छलफल भएको पुडासैनीले बताउनुभयो ।

विषयगत समितिले पालिका भित्रका सबै शिक्षकहरुलाई समेट्ने गरी म्यासेन्जर ग्रुप बनाउने, शिक्षणका क्रमका भएगरेका राम्रा अभ्यास तथा अनुभवहरु एवम् विषयगत समस्याहरु एक अर्काबिच साझेदारी गर्ने उद्देश्य राखेको छ । सिद्धलेक गाउँपालिकाले पालिका भित्रका सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरुका लागि हरेक बर्ष शैक्षिक सत्रको सुरुमा नै विभिन्न विषयका विषयगत तालिम सञ्चालन गर्ने गरेकोमा यो वर्ष भने कोभिडको कारण तालिम सञ्चालन गर्न नसकिएको शैक्षिक सहजकर्ता अधिकारीले जानकारी दिनुभयो ।

यसअघि वि।सं। २०७५ को सुरुमा पनि विषयगत तालिमको समयमा विषयगत समिति बनेको र बीचमा पुनर्गठन हुन नसकेको अवस्थामा कार्यक्रम कार्यान्वयन पुस्तिकामा व्यवस्था भए बमोजिम पुन गठन गरिएको सहजकर्ता अधिकारीले बताउनुभयो।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्