नेपालकाे योजना जोर्डनलाई रोक्ने

कुवेत, २५ जेठ

प्रशिक्षक अब्दुल्लाहले नेपालमा सुरुवाती प्रशिक्षण दौरान नेपाल एसिया कप २०२३ मा छनोट हुन नसक्ने बताएका थिए । उनले नेपालको ग्रासरुट अवस्थादेखि प्रश्न उठाउँदै नेपालमा उच्च कोटीका खेलाडी नभएको जनाउँदै नेपाली टिमले एसियन कपमा स्थान बनाउन नसक्ने बताएका हुन् । 

तर, पनि नेपाली टिमले कतारको दोहामा केही साता र कुवेतमा समेत आफ्नो अन्तिम तयारी पूरा गरिसकेको छ । नेपालले बुधबार राति नेपाली समय अनुसार १ बजे बलियो टोली जोर्डनको सामना गर्दै छ । 

कुवेत सिटीस्थित जवर अल अहमाद अन्तर्राष्ट्रिय स्टेडियममा हुने खेलमा नेपाल आफूभन्दा फिफा वरीयतामा ७७ स्थान माथिको जोर्डनसँग खेल्न लागेको हो । हाल फिफा वरीयतामा जोर्डन ९१औं स्थानमा छ भने नेपाल १६८ स्थानमा छ । 

तर, नेपाली खेलाडी, प्रशिक्षकको भने मनोबल भने उच्च रहेको छ । टिममा नियमित ११ खेलाडी छैनन् । नयाँ खेलाडीको बाहुल्यता छ । औषत उमेर २३ छ । कुवेत भ्रमणमा चार नयाँ अनुहारसमेत छन् । 

यद्यपि, एसियाली पावर हाउसविरुद्ध खेलाडीले मनोबल उच्च बनाएका छन् र राम्रो टक्कर दिने योजनामा छन् । दोहा र कुवेतमा अभ्यास खेलमा खेलाडीले निकै राम्रो प्रदर्शन गरे । जसकारण प्रशिक्षकले समेत सुरुवाती लक्ष्यलाई केही परिवर्तन गरेका छन् । उनले जोर्डनलाई रोक्न सक्ने बताउँदै खेलाडीलाई आफूलाई प्रमाणित गर्न अवसर रहेको बताउँदै आएका छन् । 

‘म्याच डे’ को दिन आज । ब्रेक फाष्टबाट निस्कँदै गर्दा प्रशिक्षक अब्दुल्लाहले सोधे, ‘रमेश के हुन्छ जस्तो लाग्छ आज ?,’

मैले भनेँ, ‘पहिलो हाफ रोके रिजल्ट हाम्रो पक्षमा १–० को आउँछ ।’

खुसी हुँदै प्रशिक्षक अब्दुल्लाहले भने, ‘मेरो योजना पनि यही हो । हामी पहिलो हाफमा रोक्ने र दोस्रो हाफमा एक गोल गर्ने ।’

यता, नियमित टोलीका ११ खेलाडी टिममा छैनन् । नयाँ खेलाडीमा जोश भरिएको छ । खेलाडी आज आफूलाई प्रमाणित गर्ने योजनामा छन् । नेपाल आज विगत फर्केर खेल्ने छैन । सम्झने छ त मात्र दशरथ रंगशालामा २०६८ साल साउनमा खेलेको खेल । जहाँ ठुलो वर्षाको बीच नेपालले जोर्डनलाई १–१ को बराबरीमा रोकेको थियो । 

आज, जोर्डनविरुद्ध अनन्त तामाङको स्थानमा विकास तामाङले डेब्यु गर्न सक्छन् । पहिलो पटक टिममा स्थान बनाएका त्रिभुवन आर्मी एफसीका विकास अभ्यास खेलमा समेत आफूलाई प्रमाणित गरिसकेका छन् । 

जोर्डनपछि नेपालले घरेलु टोली कुवेत र इन्डोनेसियासँग सोही मैदानमा खेल्नेछ । तुलनात्मक रुपमा जोर्डनभन्दा कुवेत र इन्डोनेसिया कमजोर टिम हुन् । यी दुई टिमविरुद्ध भने नेपाल शतप्रतिशत जितको योजनामा रहनेछ । 
 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्