चेपाङ किशोरीहरुको लागि सुबिधा सम्पन्न छात्राबास बन्ने,बुधबार शिलान्यास गरियो

धादिङको गजुरी गाउँपालिका वडा नं १ स्थित हाँगेटारमा आवासिय चेपाङ छात्राबास भवनको शिलान्यास गरिएको छ । चेपाङ किशोरीहरुको लागि निर्माण गर्न लागिएको उक्त भवनको बुधबार जिल्ला समन्वय समिति धादिङका प्रमुख जगन्नाथ नेपालले शिलन्यास गर्नु भएको हो ।

प्रयास नेपाल धादिङले प्लानेट ईन्फान्ड एण्ड डेभलपमेन्ट, फ्रान्ससँगको साझेदारीमा जिल्ला समन्वय समिति धादिङ, गजुरी गाउँपालिका धादिङ र नेपाल चेपाङ संघ धादिङको समन्वयमा निर्माण गर्न लागिएको भवनको शिलान्यास गरिएको हो । ४.५ रोपनी क्षेत्रफलमा बन्ने छात्राबास भवनमा, भान्सा तथा डाईनिङ भवन, पुस्तकालय तथा पढाइ भवन, पाले घर सहित ३० जना बस्ने क्षमता भएको भवन १ करोड १५ लाखको लागतमा निर्माण गर्न लागिएको प्रयास नेपाल धादिङका कार्यकारी निर्देशक दामोदर अर्यालले जानकारी दिनुभयो । 

बिकट भौगोलिक स्थानबाट उच्च शिक्षा हाँसिल गर्न आउँदा बसाई व्यवस्थापन गर्न सहजताको माध्यमबाट चेपाङ किशोरीहरुको शैक्षिक विकास सहकार्य गरिएको पनि कार्यकारी निर्देशक अर्यालले बताउनुभयो । उहाँले भवन निर्माण पश्चात पनि किशोरीहरुको लागि शैक्षिक विकासमा सहयोग गरी शिक्षाको माध्यमबाट सामाजिक रुपान्तरण अभियानमा सहकार्य निरन्तर रहने समेत बताउनुभएको छ ।

उक्त छात्राबास भवनको २०७८ जेठ मशान्तसम्ममा निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको निर्माण कम्पनी जी.ए बिल्र्डस् काठमाडौंका कार्यक्रम संयोजक गोबिन्दराज रेग्मीले बताउनु भयो । छात्राबास भवन शिलन्यास कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला समन्वय प्रमुख जगन्नाथ नेपालले चेपाङ किशोरीहरुको शैक्षिक विकासमा योगदान गर्ने बताउँदै निर्माण पश्चात व्यवस्थित रुपमा संचालनमा चेपाङ संघ र गजुरी गाउँपालिकाले बिशेष ध्यान दिनु पर्नेमा जोड दिनुभयो ।

यस्तै कार्यक्रममा आफ्नो भनाई राख्दै गजुरी गाउँपालिका अध्यक्ष राजेन्द्र बिक्रम बस्नेतले भौगोलिक बिकट स्थानबाट उच्च शिक्षाको लागि आएका चेपाङ किशोरीहरुको पढाईमा सहयोगको लागि विकास साझेदारहरुसँगको समन्वय तथा सहकार्यमा निर्मित छात्राबास भवनको सहि प्रयोग तथा व्यवस्थापनमा आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ । 

यसैगरी उक्त कार्यक्रममा १६ दिने लैगिक हिंसा बिरुद्धको दिवसको अवसर पारी लैगिँकतामा आधारित मुद्धाहरुमा समुदाय शसक्तिकरण सहयोगी सामाग्री नामक पुस्तक बिमोचन गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका जिसस प्रमुख नेपाल र गाउँपालिका अध्यक्ष बस्नेतले पुस्तक बिमोचन गर्नु भएको गजुरीबाट प्रयास नेपाल धादिङका सामाजिक परिचालक सुमित्रा चेपाङले जानकारी दिनुभयो । शिलान्यास कार्यक्रममा प्रयास नेपाल धादिङका अध्यक्ष रेष्टन कडेलको अध्यक्षतामा भएको शिलन्यास कार्यक्रममा गजुरी गाउँपालिका अध्यक्ष राजेन्द्र बिक्रम बस्नेत, उपाध्यक्ष सीता ढुङ्गाना,नेपाल चेपाङ  संघका सचिब कृष्ण बहादुर चेपाङ,पत्रकार महासंघका अध्यक्ष नबराज छत्कुली, लगायत पत्रकार तथा अन्य समाजिक व्यक्तित्वहरुको उपस्थिति रहेको थियो । 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्