खेलकुदमा प्रदेश सरकार सकारात्मक(सम्पादकीय)

धादिङ,०४ असार।
बागमती प्रदेश सरकारले ल्याएको नीति तथा बजेट कार्यक्रमले खेलकुद क्षेत्रलाई प्राथमिकता दिएको छ ।

प्रदेश सरकारको नीति कार्यक्रममा धादिङ जिल्लाभित्र मात्र रहेका ५० वटा खेलकुद मैदानलाई सरकारले बजेट छुट्याएको छ, यसलाई जिल्लाबासीले सकारात्मक रुपमा लिएका छन् ।

प्रदेश सरकारले ५० वटा खेलकुद मैदानमा योजना हाल्दा यो योजना कसरी सम्भव भयो ? के यसैगरी अन्य जिल्लाहरुमा पनि वजेट विनियोजन भएका छन् त ? कि छैन ? कि सामाजिक संजालहरुमा भनिएका, गुनासा गरिएका वा आलाचनामा देखिएको जस्तै पहँुच, पैसा वा आफ्ना पार्टीको नेतृत्वमा विजय भएका स्थानहरुमा मात्रै बजेट हालिएको छ ? बास्तविकता के होला ? त्यो भने सचेत नागरिकहरुबाट बुझ्ने र छुट्याउनुपर्ने बेला भएको छ ।

अहिले अधिकाँश नागरिकहरु सामाजिक संजालमा जोडिएका छन् । सामाजिक संजालमा जोडिएकाहरुले एक दिनमा कम्तिमा पनि एक पटक जोडिने, हेर्ने, जसका कारण हाम्रो समाजमा के भैरहेको छ भन्ने विषयमा ज्ञान लिने गर्दछन् । कतिपयले सामाजिक संजालमार्फत आफ्ना पक्षको समर्थन र विपक्षको विरोध गर्ने लगायतको काममा दिन काटिरहेका पनि पाउन सकिन्छ ।

धादिङ जिल्लामा खेलकुद क्षेत्रमा छुट्ट्याइएको बजेटकै विषयलाई लिएर पनि धेरै मान्छेबाट सामाजिक संजालमा विरोध भैरहेको छ, धादिङ जिल्लाबाट प्रतिनिधित्व गरेका मुख्यमन्त्रि राजेन्द्रप्रसाद पाण्डे नेकपा समाजवादीमा आवद्ध छन् भने उनी निकट पार्टीले धुनिवेसी नगरपालिकाबाट मात्रै निर्वाचनमा विजय भएको छ ।

त्यसैगरी माओवादीबाट योजनामन्त्रीको नेतृत्व गरेका शालिकराम जम्कटेलको नेतृत्वमा रहेको माओवादी केन्द्रले पनि तीनवटा गाउँपालिकाको मात्र नेतृत्व गरिरहेको छ भने, उनीहरु जिल्लाभर ५० वटा खेलकुद मैदानलाई पैसा छुट्याउन सफल भएका छन्, यसमा विरोध गर्नु हामीलाई पैसा चाहिँदैन भन्ने जस्तो गरी पूर्वाग्रही सोंच राख्नु कदापि हुदैन ।

यसर्थ हामी जिल्लाबासी आम युवाहरुले कम्तिमा पनि यो वर्ष प्रदेश सरकारले नै विभिन्न स्थानमा रहेका खेलकुद मैदानलाई रकम दिने काम गरेकोप्रति धन्यवाद दिने र जति पनि रकम खर्च हुँदैछन् तीनिहरुको उचित तरिकाले खर्च होस् मितव्ययी होस् भन्ने भावका साथ अग्रसरता लिनु राम्रो हुन्छ ।

मन्त्री, सांसद वा अन्य नेतृत्वबाट ठाउँ छनौट भएको हुन सक्छ तर, रकम खर्च गर्ने उनीहरुले होइन रकम खर्च गर्ने एउटा विधि छ । एउटा तरिका छ र रकम खर्च गर्दा उनीहरुले अनुगमन हुन सक्छ तर, भुक्तानी दिने, काम कर्मचारीहरुबाट हुने हो यसकारण काम कम भएका ठाउँहरुमा यो यो नपुग भएको छ भनेर गुनासो गर्न सकिन्छ, विकासका नाममा आएको पैसामा नै आक्र्रोसित हुनु राम्रो हुँदैन ।

यसकारण आम धादिङवासी वा सरोकार राख्ने नागरिकहरुले यो विषयमा सोचौं र आगामी हाम्रो बजेट व्यवस्थापनको लागि वलियो खम्बाको रुपमा उभिऔं यसले हामी सबैको लागि फाइदा पुग्न सक्छ भने खेलकुद क्षेत्रको विकास भएमा वा यहाँका खेलाडिहरुले आफ्नो क्षमता वृद्धि गरी राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा नेतृत्व गर्न सक्ने भएमा हामी सबैलाई फाइदा हुन सक्छ यसकारण खेलकुद क्षेत्रलाई सकारात्मक बनाउन सबैले भुमीका खेलौं ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्