मन्त्रीबाट प्रेम आलेले घोषणा गरे राजीनामा

काठमाडौं, १२ असार । 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले राजीनामा दिएका छन् । पार्टी अध्यक्ष माधव कुमार नेपाललाई राजीनामा बुझाइसकेका उनले आइतबार बेलुका मन्त्रालयमा पत्रकार सम्मेलन गरेर राजीनामा घोषणा गरेका हुन् । उनले आफूले पदबाट राजीनामा दिए पनि सांसदको भूमिकामा रहिरहने र विकृतिविरुद्ध मेरो खबरदारी निरन्तर रहने छ । 

‘म यहाँबाट बिदा भएर सिंहदरबारबाहिर सांसदको भूमिकामा रहिरहने नै छु । विकृतिविरुद्ध मेरो खबरदारी निरन्तर रहिरहने छ । समयले मागेमा म सुधारका लागि नेतृत्वमा पुनः फर्किने नै छु’, आइतबार आयोजति पत्रकार सम्मेलनमा आलेले भने । 

आफूले मन्त्रालयमा २६३ दिन बिताएको भन्दै उनले ति दिनहरु बितेको आफूलाई पत्ता नभएको बताए । उनले आफू आफ्नो कामबाट ९० प्रतिशत सन्तुष्ट रहेको बताए । जनताले आफ्नो काममको समीक्षा गर्ने उनको भनाइ थियो । उनले कागजमा मात्रै काम गरेकाहरु आफ्नो निगरानीमा पर्ने गरेको बताए । ‘पिँधमा बस्नेहरुभन्दा टाकुरामा बस्नेहरु सधैं मेरो निगरानीमा परे’, उनले भने ।

काम गर्दा शक्ति केन्द्रबाट दबाब र प्रभाव आएको भए पनि आफूले त्यसअनुसार काम नगरेको उनको दाबी थियो । 

नेकपा एकीकृत समाजवादीले गत जेठ २२ गते नै आफ्ना मन्त्रीहरुलाई फिर्ता बोलाएर नयाँ मन्त्री पठाउने निर्णय गरेको थियो । तर, पार्टीको निर्णयलाई प्रधानमन्त्रीले कार्यान्वयन नगरेपछि  पार्टीमा बिबाद देखिएको थियो । यसबीचमा आलेसहितका १० सांसदहरुले पार्टी नेतृत्वलाई विभिन्न माग राख्दै ज्ञापनपत्र बुझाएका थिए । तर आलेसहितका ६ जनाले फिर्ता लिएका थिए । उनीहरुले मन्त्रीबाट राजीनामा नदिने अडान राख्दै आएका थिए । 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्