पहिरोका कारण डेढ दर्जनभन्दा बढी सडक अवरुद्ध, सवारी आवागमन प्रभावित

काठमाडौं, १५ असार ।

अविरल वर्षासँगै आएको बाढी तथा पहिरोका कारण देशभर डेढ दर्जनभन्दा बढी सडक अवरुद्ध भएका छन् । सडक अवरुद्ध हुँदा सवारी आवागमन प्रभावित भएको छ ।

सिन्धुली, दार्चुला, मोरङ, बागलुङ, प्युठान, धादिङ, दाङ, तनहुँ, नवलपरासी(पूर्व), धनकुटा, उदयपुर र सोलुखुम्बुका विभिन्न स्थानमा पहिरो जाँदा सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

सिन्धुलीको गोलन्जोर गाउँपालिका–५ सोलाभन्ज्याङस्थित बिपि राजमार्गमा बुधबार बिहान पहिरो जाँदा सडक पूर्णरुपमा अवरुद्ध भएको छ ।

यस्तै, सिन्धुलीकै गोलन्जोर गाउँपालिका–६ अकरे भिरस्थित सडकमा बुधबार बिहान ढुङ्गा माटो सहितको पहिरो जाँदा सडक अवरुद्ध भएको छ । दुवै स्थानमा नजिकको प्रहरी कार्यालयबाट खटिएको प्रहरीले सडक खुलाउने पहल गरिरहेको छ ।

दार्चुलाको शैल्यशिखर नगरपालका–९ नक्तडीमा गोकुलेश्वर दार्चुला सडकमा बुधबार बिहान पहिरो जाँदा सडक अवरुद्ध भएको भएको छ । इलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट खटिएको प्रहरीले सडक खुलाउन आवश्यक पहल गरिरहेको छ ।

मोरङको लेटाङ नगरपालिका–३ फायर लाईनस्थित लेटाङ कानेपोखरी सडकमा मंगलबार दिउँसो रुख लडेर सडक अवरुद्ध भएको छ । इलाका प्रहरी कार्यालय लेटाङबाट खटिएको प्रहरीले स्थानीय र जनप्रतिनिधिको सहयोगमा सडक खुलाउन आवश्यक पहल गरिरहेको छ ।

बागलुङको गल्कोट नगरपालिका–७ आगाखेतस्थित सडकमा मंगलबार राति पहिरो जाँदा सडक पूर्णरुपमा अवरुद्ध भएको छ । सडक अवरोध भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी हटियाबाट सडक खुलाउन आवश्यक पहल गरिरहेको छ ।

प्युठानको सरुमारानी गाउँपालिका–४ अँधेरी खोला, पाँकुरी खोलामा मंगलबार राति लेदो सहितको पहिरो जाँदा प्यूठान भालुवाङ सडक खण्ड अवरुद्ध भएको छ । साथै माण्डबी गाउँपालिका–५ चेरनेटामा बुधबार बिहान लेदो सहितको पहिरो जाँदा सडक अवरुद्ध भएको छ ।

सडक अवरोध भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी बड्डाडाँडा र अस्थाई प्रहरी पोष्ट चकचकेबाट खटिएको प्रहरीले सडक खुलाउने आवश्यक पहल गरिरहेको छ ।

धादिङको गल्छी गाउँपालिका–६ महेश दोभानस्थित पृथ्वी राजमार्गमा बुधबार बिहान लेदो सहित पहिरो जाँदा सडक अवरोध भएको छ । प्रहरी चौकी बैरेनीबाट खटिएको प्रहरीले आवश्यक समन्वयमा सडक एकतर्फी सूचारु गराएको छ ।

दाङको घोराही उपमहानगरपालिका–१३ बगालेमा भेरे खोलामा मंगलबार राति आएको बाढीका कारण घोराही रोल्पा होलेरी सडक पूर्णरूपमा अवरुद्ध बनेको छ ।

अस्थाई प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले बाढीमा फसेका दुईवटा सवारी साधन निकाल्नुका साथै एउटा डबल क्याप जिप निकाल्ने पहल गरिरहेको छ ।

तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरास्थित पृथ्वी राजमार्गमा बुधबार बिहान ढुंगा माटो सहितको लेदो पहिरो जाँदा सडक पूर्णरुपमा अवरुद्ध भएको छ । इलाका प्रहरी कार्यालय आबुखैरेनीबाट खटिएको प्रहरीले सडक खुलाउन आवश्यक पहल गरिरहेको छ ।

नवलपरासी पूर्वको विनयीत्रिवेणी गाउँपालिका–१ स्थित खहरे खोला, मध्यबिन्दु नगरपालिका–१० स्थित ठुलो खहरे र सानो खहरे खोलामा पुल निर्माणको लागि बनाईएको तीन वटा ड्राईभर्सन अबिरल बर्षाको कारण बुधबार बिहान बगाएको छ । ड्राईभर्सन बगाउँदा पूर्वपश्विम राजमार्ग अवरुद्ध भएको छ । इलाका प्रहरी कार्यालय नयाँबेलहनीबाट खटिएको प्रहरीले सडक खुलाउन आवश्यक पहल गरिरहेको छ ।

धनकुटाको धनकुटा नगरपालिका–९ सिम्सुवास्थित मुलघाटदेखि त्रिवेणी जाने सडकमा बुधबार बिहान पहिरो जाँदा सडक अवरोध भएको छ । सडक अवरोध भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी मुलघाटबाट खटिएको प्रहरीले सडक खुलाउन आवश्यक पहल गरिरहेको छ ।

उदयपुरको कटारी नगरपालिका–१४ वनडाँडास्थित सिद्दिचरण राजमार्गमा बुधबार बिहान पहिरो जाँदा सडक अवरोध भएको छ । प्रहरी चौकी घुर्मीबाट खटिएको प्रहरीले सडक खुलाउन आवश्यक पहल गरिरहेको छ ।

यसैगरी उदयपुरको चौदण्डिगढी नगरपालिका–१० खैराझोडा र सोही नगरपालिका–९ ज्यामिरे खोलामा आएको बाढीको कारण सडक अबरोध भएको छ । उक्त स्थानमा तत्काल इलाका प्रहरी कार्यालय बेल्टारबाट प्रहरी खटिएको छ ।

सोलुखुम्बुको माहाकुलुङ गाउँपालिका–१ लोचनस्थित बुङबाट सोताङतर्फ आउने सडकमा मंगलबार साँझ पहिरो जाँदा सडक अबरोध भएको छ । प्रहरी चौकी बुङबाट खटिएको प्रहरीले सडक खुलाउन आवश्यक पहल गरिरहेको छ । 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्