माओवादी केन्द्रको जारी केन्द्रीय समिति बैठक स्थगित

काठमाडौ,२१ असार ।
नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक स्थगित भएको छ । काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आइतबारदेखि जारी बैठक अचानक स्थगन भएको हो । 

माओवादी केन्द्रीय कार्यालयका मुख्यसचिव श्रीराम ढकालका अनुसार पदाधिकारी चयन, पोलिटब्युरो र स्थायी समितिको चयन र कार्यविभाजन लगायतबारे थप गृहकार्यका लागि आजको बैठक स्थगित गरिएको हो । 

माओवादीकाे आठौं महाधिवेशनले पारित गरेको विधानमा पदाधिकारीमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव र कोषाध्यक्ष रहने व्यवस्था गरेको छ । तर, हालसम्म अध्यक्षबाहेकका अन्य पदाधिकारी चयन हुन सकेका छैनन्। जारी बैठकमा पार्टीका प्रदेश इन्चार्ज तथा अध्यक्षहरुले पदाधिकारी टुंगो लगाउन माग गरिरहेका छन् ।

बागमती प्रदेश कमिटीका अध्यक्ष सरल सहयात्रीले प्रदेशकाे रिर्पोटिङ गर्दै भनेका थिए-  ‘यो केन्द्रीय समिति बैठकबाट पदाधिकारी र अरु संरचना टुंग्याउनु पर्छ । बरु पाँच दिनसम्म बैठक बसौं । यो भद्रगोल अवस्था नराखौं ।’ 

आज बिहान  ११ बजे बस्ने भनिएको बैठक स्थगित भएसँगै अब बुधबार बस्नेछ । आजको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदनमा स्पष्टीकरण दिने कार्यक्रम थियो । ९ वटा एजेन्डामा छलफल गरिरहेको माओवादी बैठकमा सुरुको दिन प्रदेश र गैर भुगोलवाट रिर्पोटिङ भएको थियो भने दोस्रो दिन केन्द्रिय सदस्यहरुले केन्द्रिय नेतृत्व माथी प्रश्न गरेका थिए । 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्