जापानका पूर्वप्रधानमन्त्री आबेको निधन

एजेन्सी । जापानका पूर्व प्रधानमन्त्री सिन्जो आबेको निधन भएको छ । गोली प्रहारपछि गम्भीर घाइते भएका आबेको केहिबेर अघि निधन भएको जापानको सरकारी मिडियाले पुष्टि गरेको छ ।

शुक्रबार बिहान साढे ११ बजे नारा सिटीमा स्ट्रिटमा स्पिच दिइरहेका बेला पछाडिबाट आबेमाथि गोली प्रहार भएको थियो । उनलाई दुई पटक गोली लागेको थियो । गोली लागेपछि उनी ढलेका थिए। उनी ढलेको ठाउँमा रगत देखिएको थियो। गोली लागेपछि सिन्जोलाई हृदयघात पनि भएको थियो ।

आबेको नारा मेडिकल युनिभर्सिटी अस्पतालमा उपचारको क्रममा निधन भएको जापानी सञ्चारमाध्यमले जनाएको छ । प्रहरीले घटनास्थलबाट ४२ वर्षीय आक्रमणकारीलाई पक्राउ गरेको छ । उनको साथबाट बन्दुक बरामद भएको छ । आक्रमणको कारण भने खुल्न सकेको छैन ।

शिन्जो दुई कार्यकालमा झण्डै ९ वर्षसम्म जापानको सबैभन्दा लामो समय सेवा गर्ने प्रधानमन्त्री थिए । ६७ वर्षीय शिन्जो लिबरल डेमोक्र्याटिक पार्टी (एलडीपी)सँग आवद्ध छन् । आबे सन् २००६ देखि २००७ सम्म प्रधानमन्त्री थिए । त्यसपछि उनी २०१२ देखि २०२० सम्म लगातार ८ वर्ष प्रधानमन्त्री भए । उनको नाममा सबैभन्दा लामो समय (९ वर्ष) प्रधानमन्त्री पदमा रहने कीर्तिमान छ।

यसअघि यो कीर्तिमान उनका काका इसाकु साइतोको नाममा थियो । आबेलाई आक्रामक नेता मानिन्छ। शिन्जोलाई अल्सरेटिभ कोलाइटिस, आन्द्राको रोग थियो जसले उनलाई २००७ मा प्रधानमन्त्री पदबाट राजीनामा दिन बाध्य तुल्यायो।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्