गएरातिको वर्षाले धादिङको विभिन्न ठाउँमा क्षति, पहिरोले घर पुर्दा एकको मृत्यु

धादिङ,१० साउन।
गएराति परेको अविरल वर्षाका कारण धादिङको विभिन्न ठाउँमा ठुलो क्षति पु¥याएको छ ।

जिल्लाको निलकण्ठ नगरपालिका–४ रानागाउँ बेसीघरमा घरमाथिबाट आएको पहिरोले घर पुरिदा एक जनाको ज्यान गएको छ । मृत्यु हुनेमा ३० वर्षीया शर्मिला थापा मगर रहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारीले जानकारी दिनुभयो ।
मृतक शर्मिला सिद्धलेक गाउँपालिका वडा नं ३ झार्लाङ्दीटारमा रहेको श्री खड्गदेवि आधारभूत विद्यालयकी प्रधानाध्यापक हुनुहुन्छ ।

यसैगरी धादिङबेसी स्थित निलकण्ठ नगरपालिका वडा नं. ३ स्थित अरुण खोलामा राति परेको भारि वर्षाले क्षति पु¥याएको छ । गए रातिको बाढिले अरुण खोला आसपास बनाईएका पाँच वटा घरमा क्षति पुगेको छ ।

स्थानीय सुरेश राना र दिपेन्द्र रानाको घर पूर्ण रुपमा भत्केको छ भने राजकुमार राना, साहिँला राना र नारायण श्रेष्ठको घरमा आंशिक क्षति पुगेको प्रहरी नायब उपरीक्षक भण्डारीले बताउनुभयो ।

त्रिवेणीचोक नजिकै रहेको टंकेश्वर इन्टरप्राईजेजको २ करोड बराबरको क्षति भएको टंकेश्वरका संचालक तिलक ढुंगानाले बताउनुभयो । उहाँका अनुसार ३ गाडी जस्ता बाहेक आफिस कोठामा रहेको दराज, कम्प्यूटर, इन्सुरेन्स गरिएको यस कम्पनीका सामाग्रीहरु समेत बगाएको बताउनुभयो। चिल्ड्रेनपार्क बोर्डिङ स्कुल र यस आसपास देखि ओम शान्तिको भवन सम्म अरुण खोलाले क्षति पु¥याएको छ ।

यसैगरी पहिरो कारण बन्द भएको कालपाण्डे मार्गमा डोजरले पहिरो हटाएपछि सञ्चालनमा आएको छ । वर्षाका कारणधादिङ बेसी–तिप्लिङ, धादिङ बेसी–खाल्टे–फोस्टार, धादिङ बेसी–सुनौलाबजार सडक खण्ड भने पहिरोका कारण अवरुद्ध रहेका छन् ।धादिङमा अहिले पनि बर्षा भईरहेको छ ।

धादिङ बेसीबाट सल्यानटारतर्फ लगिएको ३३ केभी प्रसारण लाइनमा क्षति पुगेकाले धादिङको ज्वालामुखी, गङ्गाजमुना, त्रिपुरासुन्दरी र गोरखाको केही भागमा समेत विद्युत् सेवा अवरुद्ध भएको र मर्मत गरी सेवा सञ्चालनमा आउन करिब ३/४ दिन लाग्ने नेपाल विद्युत् प्राधिकरण धादिङले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्