दुई दशकपछि एकैपटक थपिँदै ६६० भन्सार एजेन्ट

काठमाडौं । सरकारले एकै पटक ६६० जना भन्सार एजेन्ट थप गर्ने भएको छ । भन्सार विभागले भन्सार एजेन्टको इजाजत पत्र लिन इच्छुकहरुका लागि दरखास्त खुलाएको छ । नेपालमा दुई दशकयता नयाँ भन्सार एजेन्ट थप हुन सकेको थिएन । भन्सार विभागका महानिर्देशक यमलाल भुसालका अनुसार व्यापार सहजिकरण गर्दै वैध व्यापार बढाउन यस्तो निर्णय लिइएको बताए । विभागका अनुसार २१ वर्ष पुरा भएको नेपाली नागरिकले भन्सार एजेन्टका लागि दरखास्त दिन सक्ने भएका छन् ।

अहिले नेपालमा १ सय ७० हाराहारीमा मात्र भन्सार एजेन्ट रहेका छन् । थप जनशक्ति नहुँदा एजेन्टले प्रतिनिधि खटाएर काम भइरहेको अवस्था थियो । यसबीचमा पटक–पटक भन्सार एजेन्ट नियुक्तिको प्रयास भएपनि सफल हुन सकेको थिएन । अर्थ मन्त्रालयमा विण्णु पौडेल आएसँगै भन्सार एजेन्ट थप्न पहल लिएका थिए । अर्थमन्त्री विण्णु पौडेलका अनुसार अब आउने जनशक्ति प्रविधिमैत्री हुनेछ । यसले राजस्वमा हुने चुवाहट नियन्त्रणमा सहयोग पुग्ने छ । व्यापार सहजिकरण गरी वैध व्यापारमा वृद्धि हुने अपेक्षा सरकारले लिएको उनको भनाइ छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्