बचत कर्ताको रकम ठगी गरेको आरोपमा धादिङका अधिकारी र हेटौंडाका घलान पक्राउ

धादिङ,०२ भाद्र।
सहकारी बचत कर्ताको रकम ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । हेटौंडा उपमहानगरपालिका–२ स्थित जनचेतना स्वाबलम्बन बचत तथा ऋण सहकारी लिमिटेडमा बचतकर्ताहरुले बचत गरेको करिब ७० लाख रुपैयाँ हिनामिना गरेको जाहेरीका आधारमा जनचेतना स्वावलम्बन बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष धादिङको फूलखर्क घर भई हाल हेटौंडा–८ बस्ने ४० वर्षीय रामकृष्ण अधिकारी र सहकारीका कोषाध्यक्ष हेटौंडा–८ का ३२ वर्षीय राजीव घलानलाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय हेटौंडाका प्रवक्ता टेक बहादुर कार्कीका अनुसार अधिकारी र कोषाध्यक्ष घलान विरुद्ध ४० जनाले जाहेरी दिएका छन् । यो संख्या बढेर ५ सय जना पुग्न सक्ने कार्कीको अनुमान छ । ‘पीडितहरुको जाहेरीको आधारमा हामीले पक्राउ गरेका हौँ । उहाँहरु विरुद्ध अहिले करिब ६० लाख रुपैयाँ ठगीको आरोप छ । यो अझै बढेर जाने हाम्रो आंकलन छ,’ उनले भने । अध्यक्ष अधिकारी र कोषाध्यक्ष घलानले पीडितहरुको पासबुक समेत कब्जा गरेर राखेको आरोप छ ।

सहकारीमा बचत गर्दै आएकी हेटौंडा–१८ की कमला बिडारी, हेटौंडा–२ की बबिता श्रेष्ठलगायतले जिल्ला प्रहरी कार्यालय मकवानपुरमा सहकारी सञ्चालकविरुद्ध साउन २४ मा उजुरी दिएका थिए । उजुरीमा उनीहरूले आफूहरूको पैसा फिर्ता माग्दा नदिइएको उल्लेख गरेका थिए । अध्यक्ष र कोषाध्यक्ष विरुद्ध प्रहरीमा जाहेरी दिनुअघि उनीहरूलाई साउन २० गते सटही हुने गरी चेक दिइएको थियो । तर चेक नसाटिएपछि उनीहरूले साउन २४ मा प्रहरीमा उजुरी दिएका हुन्

सहकारीले बचतकर्ताको रकम फिर्ताका लागि मेनुका श्रेष्ठ पाख्रिनको नाममा १५ लाख ४६ हजार ८३२, अनुषा राजवाहक÷देविका शर्माको नाममा २५ लाख ७८ हजार ९८०, पावर्ती हमालको नाममा १६ लाख ९५ हजार, सविता स्याङतानको नाममा १० लाख ७१ हजार ४४५ र सुनिलकुमार बानियाँको नाममा ११ लाख ८० हजार रुपैयाँको ५ थान चेक काटेको थियो । तर खातामा रकम नभएकाले ती चेक नसाटिएपछि उनीहरुले जाहेरी दिएका हुन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्