ललितपुर एनएसएलको प्लेअफमा, विराटनगर बाहिरियो

काठमाडौं । ललितपुर सिटी एफसी नेपाल सुपर लिग (एनएसएल)को प्लेअफमा पुग्ने तेस्रो टिम बनेको छ । शनिबार भएको आफ्नो अन्तिम खेलमा विराटनगर सिटी एफसीलाई ४–० गोलले पराजित गर्दै ललितपुरले प्लेअफमा स्थान बनाएको हो ।

विराटनगर भने हारपछि शीर्ष चारमा रहन असफल भयो र लिग चरणबाटै बाहिरिएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा विवादित बनेको खेलमा ललितपुरका लागि कप्तान अन्जन विष्टले दुई गोल गरे । यस्तै विमल राना र नुर्लान जाहीले एक–एक गोल गरे ।

खेलको ३६औं मिनेटमा अन्जनले गोल गर्दै ललितपुरलाई अग्रता दिलाएका थिए । ६४औं मिनेटमा विमल रानाले ललितपुरको अग्रता दोब्बर पारे । उक्त गोलपछि विराटनगरले असन्तुष्टि जनाउँदै खेलाडीहरु मैदान बाहिरिएका थिए । पेड्रो मान्जि मात्र मैदानभित्र थिए । करिब ६ मिनेटपछि खेल फेरि सुरु भएको थियो । त्यसपछि ८१औं मिनेटमा अन्जनले व्यक्तिगत दोस्रो गोल गरे ।

थप गरिएको १२ मिनेटको इन्जुरी समयमा छैटौं मिनेटमा नुर्लानले गोल गर्दै ललितपुरलाई ४–० को जित दिलाए ।

दुई गोल गरेका ललितपुरका कप्तान अन्जन प्लेयर अफ दी म्याच घोषित भए । उनले नगद २५ हजार पाए । यस्तै ललितपुरकै डोना थापाले इमर्जिङ प्लेयर बन्दै १० हजार प्राप्त गरे ।

जितपछि लिगमा ६ खेलबाट ९ अंक जोडेको ललितपुर तेस्रो स्थानमा उक्लिएको छ र शीर्ष चारमा स्थान पक्का गरेको छ । ललितपुरले अब एलिमिनेटर खेल्नेछ । यसअघि नै धनगढी एफसी र काठमाडौं रेजर्स एफसी प्लेअफ पुगिसकेका छन् ।

तालिकाको पाँचौ स्थानमा रहेको विराटनगर प्लेअफ पुग्न असफल भएको छ । चितवनपछि लिगबाट बाहिरिने विराटनगर अर्को टिम बनेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्