ठमेलबाट लागुऔषधसहित धादिङका दुई युवती पक्राउ

धादिङ,१५ भाद्र ।
काठमाडौंको ठमेलबाट लागुऔषधसहित तीन जना पक्राउ परेका छन्।

भाद्र १३ गते एक महिलाको मोबाइल चोरी भएको घटनाको अनुसन्धानका क्रममा धादिङको धुनीबेशी नगरपालिका–८ कि २३ वर्षीया अनिशा देउला, गल्छी गाउँपालिका–६ कि २१ वर्षीया सिर्जना गर्तौला र भारतको बिहार सीतामढी बेरगिनियाका १९ वर्षीय रक्की भनिने धिरज कुमारलाई पक्राउ गरिएको प्रहरी वृत्त सोह्रखुट्टेले जनाएको छ ।

प्रहरीले उनीहरुबाट २७ सय एम्पुल लागुऔषध बरामद गरेको छ। ठमेल नयाँबजारस्थित अनिशा देउलाको कोठामा मोबाइलको अनुसन्धान गर्ने क्रममा उक्त लागुऔषध बरामद भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता दिनेशराज मैनालीले जानकारी दिनुभयो ।

पक्राउ परेका तीनै जनाविरुद्ध लागुऔषधको कसूरमा काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्