कोभिडका कारण ७३ जिल्लामा निषेधाज्ञा


कोभिड–१९ (कोरोना भाइरस) संक्रमण महामारीको दोस्रो लहरको रोकथाम तथा नियन्त्रण र व्यवस्थापनका लागि निषेधाज्ञा जारी गरिएका जिल्लाहरूको सङख्या ७३ पुगेको छ । काठमाडौँ उपत्यका सहित देशभरका ७३ वटा जिल्लामा निषेधाज्ञा जारी भएको हो ।
गृह मन्त्रालयका अनुसार शुक्रबार बिहान (आज) सम्मको तथ्याङ्क हेर्दा खोटाङ, तेह्रथुम, पूर्वीरुकुम र मनाङबाहेक सबै जिल्लामा निषेधाज्ञा जारी भएको छ । निषेधाज्ञा जारी भएका स्थानमा अझै कडाइ गर्नलाई मन्त्रालयले निर्देशन समेत दिएको छ । विभिन्न थरीका सवारी पासका नाममा सडकमा चहलपहल बढी देखिएको भन्दै गृह मन्त्रालयले सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरूलाई निषेधाज्ञा कार्यान्वयनमा थप कडाइ गर्न निर्देशन दिएको हो ।
कोरोना संक्रमण नियन्त्रणको महत्वपूर्ण विकल्पको रुपमा गृह मन्त्रालयले निषेधाज्ञा (लकडाउन) लाई नै लिएको छ । काठमाडौँ उपत्यका लगायत तराईका जिल्लाहरूमा पाँच सय र पहाडी जिल्लाहरूमा दुई सयभन्दा बढी संक्रमित फेला परेमा सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरूलाई निषेधाज्ञा जारी गर्न मन्त्रालयले निर्देशन दिएको गृह प्रवक्ता जनकराज दाहालले जानकारी दिनुभयो ।
धादिङमा पनि गत वैशाख २१ देखि ३१ गतेसम्म जारी गरिएको निषेधाज्ञा पुन जेठ १५ सम्म लागू हुने गरी थप गरिएको छ । साथै प्रशासनले लकडाउनमा समेत शुक्रबारबाट थप कडाइ गर्न थालेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्