धादिङमा जेठ १५ सम्म थपियो निषेधाज्ञा

धादिङ,३० बैशाख ।
धादिङमा जेठ १५ गतेसम्म निषेधाज्ञा थपिएको छ । बिहिबार दिउँसो बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले जेठ १५ गते राति १२ बजेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो। बैशाख २१ बाट सुरु भएको निषेधाज्ञा आज राति १२ बजे सकिँदै छ । यसपटकको निषेधाज्ञालाई थप कडा बनाइने र उल्लंघन गर्नेलाई कानून बमोजिम कारवाहि गर्ने प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले जानकारी दिनुभयो ।

निषेधाज्ञामा खाद्यान्न,फलफुल तरकारी र दुग्द्यजन्य पदार्थ लगायतका अत्यावश्क सामाग्री बिक्रि गर्ने पसलहरु बिहान ६ बजे देखि ९ बजेसम्म  मात्र खुल्नेछन् । टेक अवे सेवा दिन चाहने होटल तथा रेष्टुरेन्टहरुले सोको सुचना टाँस गरि बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म मात्र सेवा उपलब्ध गराउने व्यवस्था गरिएको छ ।

सर्वसाधारण अत्यावश्यक बाहेक घरबाहिर निस्किन नपाउने र मानिसको भिडभाड हुने सबै गतिविधिमा भने रोक लगाइएको छ । अत्यावश्यक सामग्री बोकेका ढुवानीका सवारी साधन, बिरामी तथा कुरुवा बोकेका एम्बुलेन्स, स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीले प्रयोग गर्ने सवारी बाहेक सार्वजनिक एवं निजी सवारी साधन सञ्चालनमा रोक लगाइएको छ ।  

भिडभाड गरि विवाह, व्रतबन्ध तथा अन्य धार्मिक कार्य गर्न रोक लगाइएको छ । घरमै उक्त कार्य गर्दा १० जनाभन्दा बढी उपस्थित हुन नपाइने बैठकको निर्णयमा उल्लेख गरिएको छ । बैंक तथा वित्तिय संस्थाहरुले सातामा २ दिनमात्रै सेवा दिन आग्रह गरिएको छ । 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्