धादिङका थप २६ फर्मको अनुगमन, १५ फर्मलाई जरिवाना(कारबाहीमा परेका फर्मको सुचीसहित)

धादिङ,१९ भाद्र ।
पृथ्वी राजमार्ग अन्तरगत धादिङ जिल्लामा सञ्चालित थप २६ होटल तथा खाजा घर र स्पलायर्स/किराना पसलमा अनुगमन गरिएको छ । जिल्ला अनुगमन टोली धादिङले शुक्रबार र शनिबार दुईदिनको अवधीमा हाईवे क्षेत्रका २६ वटा फर्महरूको अनुगमन गर्दा उपभोक्ता हित विपरीत गर्ने १५ वटा फर्महरुलाई नगद जरिवाना सहित कारबाही गरेको छ ।

टोलिले बेनीघाट रोराङ गा.पा.– ३, मलेखु बजारको श्री नगर मोटल होटललाई १० हजार,सोहीक ठाउँको निशा ट्रेडर्सलाई कारबाही स्वरुप २० हजार जरिवाना तिराइएको घरेलु कार्यालय धादिङले जनाएको छ । गजुरी गा.पा.– २, मलेखु बजारको श्री लामा होटल, झापाली भान्छा घर, राधिका होटललाई ५/५ हजारका दरले जरिवाना तिराइएको छ ।

थाक्रे गा.पा.–३, सिम्लेकोे कालिका ए टु जेड स्टोर्सलाई ५ हजार, थाक्रे गा.पा.–२, सिम्लेको पश्चिम नेपाल होटल एण्ड रेष्टुरेण्टलाई १० हजार, धुनिबेशी न.पा.–६, मितेरी टोलको ग्रीन गार्डेन होटललाई ५ हजार,सोही ठाउँको मितेरी कोल्ड स्टोर्सलाई ५ हजार तिराइएको छ ।

त्यसैगरी धुनिबेशी न.पा.–६,नौबिसेको फाष्ट एण्ड इजी क्याफेलाई ५ हजार, धुनिबेशी न.पा.–९, कानाकोटको हाइवे ब्रेक प्वाइन्ट खाजा घरलाई २० हजार, के.बी. होटललाई ५ हजार, हाइवे रेष्ट सेन्टरलाई १० हजार, मंगोलियन फाष्ट फुडलाई ५ हजार र गजुरी गा.पा.–२, बिहानीको मन्दिरा होटल एण्ड खाजा घरलाई ५ हजार जरिवाना जरिवाना गरिएको घरेलु कार्यालय धादिङले जनाएको छ । टोलीले अनुगमनको क्रममा १ लाख १ हजार ५ सय रुपैयाँ बराबरको म्याद गुज्रेका/सडेगलेका प्रयोग गर्न अयोग्य सामाग्रीहरु नष्ट गरेको छ ।

जिल्ला अनुगमन टोलीले यसअघि पनि पृथ्वी राजमार्ग क्षेत्रमा सञ्चालित १८ वटा होटल तथा खाजा घरहरूको अनुगमन गर्दा ११ होटललाई कारबाही गरेको थियो भने १२ हजार ८ सय रुपैयाँ बराबरको म्याद गुज्रेका/सडेगलेका प्रयोग गर्न अयोग्य सामाग्रीहरु नष्ट गरेको थियो ।

कारबाहीमा परेका होटलहरुले निर्धारित मुल्यभन्दा बढी रकम लिएको, सरसफाइमा ध्यान नदिएको पाइएको जरिवाना तिराईएको जिल्ला प्रशासन कार्यालय धादिङले जानकारी दिएको छ ।

जिल्लाका बिभिन्न स्थानमा अखाध्य बस्तुको बिक्री भएको, तोकिएको मुल्यभन्दा बढी रकम लिएको र सरसफाइमा ध्यान नदिएको भन्ने सुचनाको आधारमा प्रशासन, घरेलु लगाएतका सम्बन्धित निकायहरुले बजार अनुगमनलाई तीब्रता दिएको छ। जिल्ला अनुगमन टोलीले उपभोक्तालाई सचेत बन्न र गुनासो गर्ने बानी बसाल्न आग्रह समेत गरेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्