महिला साफ च्याम्पियनसिप आजदेखि, नेपाल र भुटान भिड्दै

छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप २०२२ आजदेखि सुरू हुँदैछ । दशरथ रंगाशालामा युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक)ले प्रतियोगिताको उद्घाटन गर्ने छन् ।

प्रतियोगिताको उद्घाटनमा नेपालले आज भुटानको सामना गर्नेछ । खेल साँझ ५ः३० बजे सुरु हुनेछ । घरेलु मैदानमा भुटानलाई हराउँदै प्रतियोगिताको सुखद सुरुवात गर्ने लक्ष्यमा नेपाल रहेको छ । अहिलेसम्म सम्पन्न साफ च्याम्पियनसिपका खेलमा नेपाल भुटानसँग पराजित भएको छैन ।  नेपाल साविक उपविजेता टोलीसमेत हो । 

नेपालको नियमित कप्तान रेनुका नगरकोटी प्रतियोगिता तयारीको क्रममा चोट बोक्दै बाहिरिएपछि कप्तानको जिम्मेवारी पहिलोपटक गोलकिपर एन्जिला तुम्बाआपो सुब्बाले सम्हाल्ने भएकी छन् । उनले घरेलु समर्थक र मैदानको भरपुर फाइदा उठाउँदै खेल्ने र उपाधि जित्न प्रयास गर्ने बताएकी छन् । 

प्रतियोगितामा नेपालसहित भारत, श्रीलंका, भुटान, बंगलादेश, पाकिस्तान र माल्दिभ्स गरी सात राष्ट्रले प्रतिधपर्धा गर्नेछन् । समूह ‘ए’ मा नेपाल, श्रीलंका र भुटान छन् । समूह ‘बी’ मा भारत, बंगलादेश, पाकिस्तान र माल्दिभ्स छन् । प्रत्येक समूहबाट अंकको आधारमा शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्