चेपाङ सङ्घको अध्यक्षमा गोविन्दराम, उपाध्यक्षमा धादिङकी सुमित्रा

धादिङ,२४ भाद्र ।
नेपाल चेपाङ सङ्घको पाँचौँ महाधिवेशनबाट केन्द्रीय अध्यक्षमा गोविन्दराम चेपाङ विजयी हुनुभएको छ । बिहीबार नयाँ कार्य समिति चयनका लागि भरतपुरमा भएको मतदानमा अध्यक्षका अर्का प्रत्यासी चितवनकी सुनिमाया चेपाङलाई पराजित गर्दै मकवानपुरका गोन्दिराम अध्यक्षमा विजयी हुनुभएको हो ।

गोविन्दरामले एक सय २३ मत प्राप्त गर्दा सुनिमायाले ९२ मत प्राप्त गर्नुभयो । संघको वरिष्ठ वरिष्ट उपाध्यक्षमा गोर्खाका बिलबहादुर चेपाङ, उपाध्यक्षमा धादिङकी सुमित्रा चेपाङ र महासचिवमा चितवनका सन्तबहादुर चेपाङ चयन भएका छन् । त्यसैगरी दुई जना सचिवमा धादिङका सुरेन्द्र चेपाङ र चितवनका भरतलाल चेपाङ तथा कोषाध्यक्षमा गोरखाका आइतसिंह चेपाङ चयन भएका छन् ।

यसैगरी मकवानपुरबाट छ जना, धादिङबाट पाँच जना, गोरखाबाट तीन जना र लमजुङ एवं तनहुँबाट एक–एक जना सदस्य निर्विरोध निर्वाचित हुनुभएको छ । चितवनबाट सात जना सदस्य भने निर्वाचन प्रक्रियाबाटै चुनिनुभएको छ । उक्त समिति ३५ सदस्यीय रहेकामा ३० जना निर्वाचित हुनुभएको हो ।

यस समितिमा पाँच जना भने पछि मनोनित हुनेछन् । नेपालमा चेपाङ समुदायका नागरिकको सङ्ख्या ६९ हजार दुई सय ३३ छ । यसअघि चैत ३ गते उद्घाटन भएको महाधिवेशन विशेष कारणबाट रोकिएको थियो ।

चेपाङहरूको मुख्य बसोबास धादिङ, गोरखा, चितवन र मकवानपुर जिल्लामा छ । सीमान्तकृत वर्गका आदिवासी समुदाय पहाडी क्षेत्रको पाखा पखेरामा कष्टसाथ बसेका छन् । चार जिल्लामा सघन बसोबास भए पनि चेपाङहरू २६ जिल्लामा फैलिएको गोविन्दराम चेपाङले बताउनुभयो ।

तस्विर : दामोदर अर्यालको फेसबुकबाट

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्