धादिङमा दिनहुँ बढ्दै डेङ्गुका बिरामी : संक्रमितको सङ्ख्या १६६ पुग्यो

धादिङ,२५ भाद्र ।
धादिङ सहित मुलुकका विभिन्न भागमा डेंगु संक्रमण बढ्दै गएको छ । धादिङमा दैनिक संक्रमणका बिरामीको सङख्यामा वृद्धि हुँदै गएको छ। एक सातादेखि अस्पतालमा दैनिक २० जनाको हाराहारीमा डेङ्गुका बिरामी उपचार गर्न आउने गरेको अस्पतालका सूचना अधिकारी विक्रम विकले जानकारी दिनुभयो ।

सूचना अधिकारी विकका अनुसार लक्षण देखापरेका बिरामीमध्ये परीक्षण गर्दा दैनिक १० जनाभन्दा बढीलाई डेङ्गु पुष्टि हुने गरेको र संक्रमितमध्ये पाँचभन्दा बढी बिरामी अस्पताल भर्ना भइरहेका छन् । सामान्य अवस्थाका बिरामीलाई होमआइसोलेशनमा राखिएको विकले बताउनुभयो ।

बिहीबारसम्म धादिङ अस्पतालमा सरकारी अस्पतालले मात्रै साउनयता एक सय ६६ जनामा डेङ्गु पुष्टि गरेको छ । नीजि अस्पताल तथा स्वास्थ्य संस्थामा जाँच गराउनेको सङ्ख्या यकिन छैन । धादिङ अस्पतालमा हरेक दिन बिहानैदेखि डेङ्गुका बिरामी बहिरङ्ग कक्ष (ओपिडी) मा लाइन लाग्ने गरेको अस्पतालले जनाएको छ ।

संक्रमण बढ्दै गएपछि धादिङबासी त्रसित बनेका छन् । स्वास्थ्य संस्थाले न्यूनिकरण तथा उपचारमा केन्द्रित गरिरहेको भएपनि नागरिक आफै सचेत हुनुपर्ने विकले बताउनुभयो । केही महिनाअघि डेंगु संक्रमणकै कारण धादिङमा एक पुरुषको मृत्यु भएको थियो।

धादिङ जिल्लामा हाल ३ स्थानबाट डेङ्गुको परिक्षण हुदैँ आएको स्वास्थ्य कार्यालय धादिङका बरिष्ठ जनस्वास्थ्य प्रशासक सागर प्रसाद घिमिरेले बताउनुभयो । धादिङ अस्पताल, सल्यान्टार प्राथमिक स्वास्थ्य केन्द्र र गजुरी प्राथमिक स्वास्थ्य केन्द्रबाट परिक्षण हुदैँ आएको छ ।परिक्षण गरिएका मध्ये धेरै केश नीलकण्ठ नगरपालिकामा भेटिएको घिमिरेले बताउनुभयो ।

लामखुट्टेको वृद्धिका लागि उपयुक्त मौसम भएका कारण पनि डेंगुको संक्रमण तीव्र रुपमा फैलिएको चिकित्सकहरुले बताएका छन् । डेंगु एडिस (एजिप्टाइ) जातिका पोथी लामखुट्टेको टोकाइबाट संक्रमण हुने भाइरल ज्वरो हो ।उदाउने र डुब्ने समयमा यो लामखुट्टेले मानिसलाई टोक्ने गर्दछ ।

ज्वरो आउने, आँखा रातो हुने र दुख्ने, टाउको, पेट, जोर्नी र मांसपेशी दुख्ने, आलस्य हुनेजस्ता डेंगुका शुरुवाती लक्षणहरु हुन् ।
डेंगुबाट बच्ने मुख्य उपाय भनेकै लामखुट्टेको टोकाइबाट बच्नु भएकाले लामखुट्टेको वृद्धि रोक्ने उपयुक्त उपाय अपनाउन, यसका लागि पानी जम्न सक्ने भाँडाहरू जस्तै गमला, फूलदानी, खाली बट्टा, अलकत्रा वा मट्टितेलका खाली ड्रमहरू, गाडीका काम नलाग्ने टायरमा पानी जम्न नदिन घिमिरेलेले आग्रह गर्नुभएको छ ।

पानीको ट्यांकीलाई लामखुट्टे प्रवेश गर्न नदिने गरी छोपेर राख्नुपर्छ । लामखुट्टेको टोकाइबाट बच्न बाहुला भएको वा शरीर ढाकिने लुगा लगाउनुपर्छ । सम्भव भएसम्म दिउँसो सुत्दा पनि झुल प्रयोग गर्नुपर्छ । साथै साना केटाकेटीलाई जुनसुकै समयमा पनि झुलभित्र सुताउनुपर्छ । लामखुट्टेको टोकाइबाट बच्न लामखुट्टे भगाउने मलहम दल्न पनि सकिन्छ । घरका झ्याल ढोकामा जाली लगाउनु उपयुक्त हुन्छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्