सर्टिफिकेट धितोमा १ सय ३९ जनालाई ऋण

काठमाण्डौ – सहुलियत कर्जामा अहिलेसम्म झण्डै डेढ खर्ब रुपैयाँ लगानी भएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

देशमै उद्यमशिलता बढाउन र आत्मनिर्भरतर्फ केन्द्रित हुन भन्दै सुरु गरिएको सहुलियतपूर्ण कर्जामा चैत मसान्तसम्म ८९ हजार ८ सय ७९ वटा कर्जामार्फत १ खर्ब ४२ अर्ब दुई करोड रुपैयाँ लगानी भएको राष्ट्र बैंकले जनाएको छ ।

यसमध्ये कृषि तथा पशुपंक्षी व्यवसाय कर्जा अन्तर्गत ४२ हजार चार सय ४७ ऋणीलाई ९६ अर्ब ६० करोड रुपैयाँ ऋण लगानी गरिएको राष्ट्र बैंकले जनाएको छ । यस्तै  महिला उद्यमशील कर्जाअन्तर्गत ४५ हजार एक सय २८ महिला उद्यमीलाई ४२ अर्ब १५ करोड ५७ लाख रुपैयाँ कर्जा लगानी भएको छ ।

यस्तै फागुनसम्म शिक्षित युवा स्वरोजगार कार्यक्रमअन्तर्गत शैक्षिक प्रमाणपत्र धितो राखेर एक सय ३९ जना युवाले ६ करोड पाँच लाख रुपैयाँ ऋण लिएका छन् । यस्तै वैदेशिक रोजगारीबाट फर्किएका सात सय ४४ जना युवाले ५५ करोड एक लाख रुपैयाँ सहुलियत व्याजको कर्जा लिएका राष्ट्र बैंकले जनाएको छ । यस्तै दलित समूदाय उद्यम कर्जा अन्तर्गत सात सय ९९ जनाले ४८ करोड चार लाख रुपैयाँ कर्जा प्राप्त गरेका छन् । उच्च प्राविधिक र व्यवसायीक शिक्षा अध्ययनको लागि ८६ जनाले एक करोड ९० लाख रुपैयाँ सहुलियत ऋण लिएका छन् ।

युवा स्वरोजगार कर्जा अन्तर्गत तीन जनाले १० लाख २३ हजार रुपैयाँ कर्जा लिएका छन् ।

सरकारले २०७५ सालदेखि सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान कार्यक्रम थालेको थियो । कार्यविधिअनुसार सहुलियतपूर्ण ब्याजमा विभिन्न १० प्रकारका कर्जा पाइन्छ । यसरी दिइने सहुलियतपूर्ण कर्जामा बैंक तथा वित्तीय संस्थाले आफ्नो आधार दरमा दुई प्रतिशतभन्दा बढी नहुने गरी ब्याज दर कायम गर्नुपर्ने तथा ब्याज, सूचना शुल्क, बीमा प्रिमियम र कर्जा सुरक्षण शुल्कबाहेक अरू शुल्क लिन नपाउने व्यवस्था छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्