अबदेखि अमेरिकामा सार्वजनिक स्थानमा मास्क लगाउन नपर्ने

काठमाडाैं,  अमेरिकी राष्ट्रपति जो बाइडनले सार्वजनिक स्थानमा अबदेखि मास्क लगाउन नपर्ने बताएका  छन् । अमेरिकी वैज्ञानिकहरुले कोरोनाविरुद्धको खोप लगाईसकेका नागरिकले अबदेखि सार्वजनिक स्थानमा मास्क लगाउन नपर्ने बताएपछि राष्ट्रपति बाइडनले यसलाई ठूलो दिनको रुपमा घोषणा गरेका हुन् । नयाँ दिशा–निर्देशको घोषणा गर्दै राष्ट्रपति बाइडनले आफ्नो कार्यालयमा अन्य सांसदसँगै मास्क फुकालेर सुरुवात गरेका हुन् ।निर्देशिका अनुसार अबदेखि मानिसहरु खुला वा बन्द, अधिकांश स्थानमा बिना मास्क आवतजावत गर्न सक्नेछन् । तर, भीडभाडयुक्त बन्द स्थान जस्तै बार र विमान यात्राको क्रममा वा अस्पतालमा अहिलेपनि मास्क लगाउन अनिवार्य नै गरिएको छ । यसैबीच, अमेरिकन फेडरेशन अफ टीचर्स लेबर यूनियनले आउने समयमा सबै विद्यालय पूर्ण रुपले सुचारु गर्न सिफारिस गरेको छ ।

अमेरिकामा १२ देखि १५ वर्ष उमेर समूहका बालबालिकालाई कोरोनाविरुद्धको खोप लगाउन अनुमति दिइएकोले विद्यालय सञ्चालन गर्न सिफारिस गरिएको हो । अमेरिका कोरोना महामारीका कारण विश्वकै सबैभन्दा बढी प्रभावित मुलुक हो । जहाँ ३ करोड ३६ लाख २६ हजारभन्दा बढी सङ्क्रमित भएका छन् भने ५ लाख ९८ हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।

अमेरिकामा हालसम्म ११ करोड ७६ लाख ४७ हजार ४ सय ३९ जनालाई कोरोनाविरुद्धको पूर्ण खोप लगाइएको छ भने १५ करोड ३९ लाख ८६ हजार ३ सय १२ जनालाई खोपको एक डोज लगाइएको छ । अमेरिकी सरकारले आगामी जुलाई ४ समम ७० प्रतिशत नागरिकलाई कोरोनाविरुद्धको खोपको कम्तिमा एक डोज लगाइसक्ने लक्ष्य राखेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्