जसपाको उपेन्द्र–बाबुरामले बोलाए आफू निकटको बैठक, ठाकुर पक्षलाई कारवाहीको तयारी

काठमाडौं,  जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव–बाबुराम भट्टराई पक्षले आफू निकटका सांसद तथा कार्यकारिणी समिति सदस्यको बैठक बोलाएको छ ।

सत्ता समीकरणका लागि पार्टीमा भएका विभिन्न गतिविधि, संसदीय दलको नेतामा राजेन्द्र महतोको चयनलगायतका विषयमा छलफल गर्नका लागि पार्टीको अनौपचारिक बैठक बोलाएको बताइएको छ । आज १ बजेका लागि बैठक बोलाइएको कार्यकारिणी सदस्य इस्तियाक राईले जानकारी दिएका छन् । ‘पार्टी विधान विपरीत कामहरु भएका छन् त्यसैको विषयमा छलफल गर्न बैठक बोलाइएको हो,’ राईले भने ।

बैठकले पार्टीको विधान विपरित जानेहरुको विषयमा निर्णय लिन सक्ने उनले बताए।जसपा नेपालको कार्यकारिणी समितिमा उपेन्द्र यादवको बहुमत रहेको छ । सोही बहुमतको आधारमा लुम्बिनी प्रदेशको सरकारलाई सहयोग गरेका चार सांसदलाई कारवाही गरिएको थियो ।
यादव पक्षका नेताको दावी अनुसार संसदीय दलमा पनि उपेन्द्र यादवको बहुमत रहेको छ । सोही बहुमतका आधारमा कांग्रेस, माओवादी केन्द्रसँग गठबन्धन बनाएर सरकार बनाउने निर्णय यादव समूहले थियो ।

तर पछिल्लो समय जसपा नेपालका अर्का अध्यक्ष महन्थ ठाकुरले १९ सांसदको हस्ताक्षर राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएका छन् । सोही हस्ताक्षरको आधारमा राजेन्द्र महतो संसदीय दलका नेता बनेका हुन् । तर चार सांसदले दुवैतिर हस्ताक्षर गरेका छन् । त्यसैले संसदीय दलको बहुमत कसको पक्षमा छ भने कुरा छुट्याउन गाह्रो छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्