धादिङमा हालसम्म ३७४ जना डेंगु संक्रमित, नीलकण्ठमा मात्रै १९८ संक्रमित(आवाज सहित)

धादिङ,०५ असोज ।
धादिङमा डेङ्गुबाट सङ्क्रमित हुनेको सङ्ख्या बढदै गएको छ । अहिलेसम्म जिल्लाका ३७४ जनामा डेंगु संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ । गत साउन १ देखी आजसम्मको विवरण अनुसार जिल्लाका २१० जना पुरुष र १६३ महिला गरी कुल ३७४ जनामा डेंगु संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरिक्षक तोयानाथ छत्कुलीले जानकारी दिनुभयो ।

धादिङमा हाल ३ स्थान (धादिङ अस्पताल, सल्यान्टार प्राथमिक स्वास्थ्य केन्द्र र गजुरी प्राथमिक स्वास्थ्य केन्द्र)बाट परिक्षण हुदैँ आएको छ ।परिक्षण गरिएका मध्ये धेरै केश नीलकण्ठ नगरपालिकामा भेटिएको छ । नीलकण्ठमा १९८, गजुरीमा ४० र त्रिपुरासुन्दरीमा २६ जनामा डेंगु संक्रमण पुष्टि भएको छत्कुलीले बताउनुभयो । नीजि अस्पताल तथा स्वास्थ्य संस्थामा जाँच गराउनेको सङ्ख्या यकिन छैन ।

उहाँका अनुसार गल्छीका १३, ज्वालामुखीका ६, नेत्रावती डवजोङका ५, बेनिघाट रोराङका ४, धुनिबेशीका ३, सिद्धलेक, गंगाजमुना र रुवीभ्याली १/१ जनामा संक्रमण पुष्टि भएको छ । हालसम्म खनियाबास र थाक्रेमा संक्रमित भेटिएका छैनन् । कुल संक्रमित मध्ये ७६ जनाको ठेगाना खुलेको छैन ।
स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरिक्षक तोयानाथ छत्कुली आवाज…१

असोज ४ गते मंगलबारमात्रै धादिङ अस्पतालमा उपचार सेवा लिन आएका २२ जनामा संक्रमण देखिएको अस्पतालका सूचना अधिकारी विक्रम विकले जानकारी दिनुभयो । संक्रमितमध्ये केही बिरामी अस्पताल भर्ना भइरहेका छन् भने सामान्य अवस्थाका बिरामीलाई होमआइसोलेशनमा राखिएको विकले बताउनुभयो । संक्रमण तिव्र रुपमा फैलिएकाले सतर्कता अपनाउन धादिङ अस्पतालले अनुरोध गरेको छ ।

डेंगु एडिस (एजिप्टाइ) जातिका पोथी लामखुट्टेको टोकाइबाट संक्रमण हुने भाइरल ज्वरो हो। ज्वरो आउने, आँखा रातो हुने र दुख्ने, टाउको, पेट, जोर्नी र मांसपेशी दुख्ने, आलस्य हुनेजस्ता डेंगुका शुरुवाती लक्षणहरु हुन् । डेंगु रोग लाग्न नदिन लामखुट्टेको टोकाइबाट जोगिनु नै सबैभन्दा उत्तम उपाय भएको स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरिक्षक छत्कुलीको भनाई छ ।

स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरिक्षक तोयानाथ छत्कुली आवाज..२

प्रायः दिनको समय, विशेष गरी बिहान र बेलुकाको समयमा सक्रीय रहने एडिज जातको लामखुट्टेको टोकाईबाट डेंगु रोग लाग्ने हुनाले, डेंगु संक्रमणको जोखिम कम गर्न कार्यस्थल वरिपरि निरन्तर सफा राख्न र पूरा बाहुला भएको पोसाक अनिवार्य लगाउन स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरिक्षक छत्कुलीले आग्रह गर्नुभएको छ ।

डेँगु रोगको रोकथामको लागि गर्नै पर्ने क्रियाकलापहरु ः
१.गमला, फुलदानी, खाली बट्टा, अलकत्रा वा मटीतेलका खाली ड्रमहरु, गाडीका काम नलाग्ने टायर आदिमा पानी जम्न नदिऔँ ।
२.पानीको ट्याङकीलाई लामखुटे प्रवेश गर्न नसक्ने गरी ढाकेर राखौँ ।
३.पुरा बाहुला भएको शरीर पुरै ढाक्ने कपडा लागाऔँ ।
४.दिउँसो वा राति सुत्दा झुल प्रयोग गरौ साथै साना केटाकेटीहरुलाई जुनसुकै समयमा पनि झुल भित्र सुताऔँ ।
५.घरको झ्याल ढोकामा जाली लगाऔँ ।
६.घर वरीपरी सफा सुग्घर राखौ र पानी जम्ने खाल्डा खुल्डी पुरौ ।
७.आफु बसोबास गर्ने स्थानमा लामखुटेको लार्भा तथा अण्डा खोजी गरी नष्ट गर्ने अभियान चलाऔँ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्