इजरायली हवाई आक्रमणबाट गाजास्थित अलजजीराको कार्यालय भएको भवन ध्वस्त

इजरायल र गाजामा रहेका प्यालेस्टाइनी विद्रोही समूहबीचको रकेट हानाहान अहिले पनि जारी छ । अघिल्लो साताको सोमबारदेखि सुरू भएको रकेट हानाहान इजरायली सेना र गाजालाई नियन्त्रणमा लिएको विद्रोही समूह हमासले जारी राखेका छन् ।

शनिबार इजरायलले गाजामा रहेको एउटा १५ तले भवनलाई निशाना बनाएर हवाई आक्रमण गरेको छ । अमेरिकी समाचार संस्था एसोसिएट प्रेस (एपी) र कतारी टेलिभिजन च्यानल अलजजिराको कार्यालय रहेको उक्त भवनमा किन आक्रमण गरिएको हो पुष्टि भइसकेको छैन ।

इजरायली सेनाले उक्त भवनमा हमासको पनि कार्यालय रहेकाले आक्रमण गरेको जनाएको छ। तर एपी र अलजजिराका पत्रकारहरूले त्यहाँ हमास समूहको कुनै कार्यालय नभएको दाबी गरेका छन् । आक्रमण हुनभन्दा पहिला नै भवन छोड्न चेतावनी आएकाले उक्त भवनमा रहेका पत्रकारहरू सुरक्षित रहेको बताइएको छ ।

इजरायलको आक्रमणमा परी अहिलेसम्म गाजामा १ सय ४९ जनाले ज्यान गुमाएका छन् । तीमध्ये ४१ जना बालबालिका रहेको बताइएको छ। इजरायलले आफ्नोतिर दुई बालबालिकासहित १० जनाको मृत्यु भएको जनाएको छ ।दुबै पक्षले आक्रमण जारी राखेका बेला संयुक्त राष्ट्रसंघ, संयुक्त राज्य अमेरिका र इजिप्टका दूतहरूले युद्धविरामका लागि प्रयास जारी राखेका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्