पछिल्लो २४ घण्टामा धादिङमा ४१ डेंगुका नयाँ बिरामी थपिए

धादिङ,१३ असोज ।
धादिङमा पछिल्लो २४ घण्टामा ४१ जना डेंगुका नयाँ बिरामी थपिएका छन् । स्वास्थ्य कार्यालय धादिङका अनुसार आज २८ पुरुष र १३ महिला गरी ४१ नयाँ बिरामी थपिएको स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरिक्षक तोयानाथ छत्कुलीले जानकारी दिनुभयो ।

योसँगै गत साउन १ गतेदेखि यता धादिङमा मात्रै डेंगु बिरामीको संख्या ६३४ पुगेको छ । स्वास्थ्य कार्यालयको विवरण अनुसार जिल्लाका ३६३ जना पुरुष र २७१ महिला गरी कुल ६३४ जनामा संक्रमण पुष्टि भएको छत्कुलीले बताउनुभयो।

धादिङमा हाल ३ स्थान (धादिङ अस्पताल, सल्यान्टार प्राथमिक स्वास्थ्य केन्द्र र गजुरी प्राथमिक स्वास्थ्य केन्द्र)बाट परिक्षण हुदैँ आएको छ ।परिक्षण गरिएका मध्ये धेरै केश नीलकण्ठ नगरपालिकामा भेटिएको छ । नीलकण्ठमा ३३४, गजुरीमा ८१ र त्रिपुरासुन्दरीमा ३६ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । नीजि अस्पताल तथा स्वास्थ्य संस्थामा जाँच गराउनेको सङ्ख्या यकिन छैन ।

यस्तै गल्छीका २३, धुनिबेशीका २२, ज्वालामुखीका २१, सिद्धलेकका १२, थाक्रेका ८, नेत्रावती डवजोङका ५, बेनिघाट रोराङका ४, रुवीभ्यालीका २ जना र गंगाजमुनाका १ जनामा संक्रमण पुष्टि भएको छ । हालसम्म खनियाबास गाउँपालिकामा संक्रमित भेटिएका छैनन् । कुल संक्रमित मध्ये ८० जनाको ठेगाना खुलेको छैन भने तिन जना अन्य जिल्लामा परिक्षण गरिएको छत्कुलीले बताउनुभयो ।

संक्रमितमध्ये केही बिरामी अस्पताल भर्ना भइरहेका छन् भने सामान्य अवस्थाका बिरामीलाई होमआइसोलेशनमा रहेका छन् ।संक्रमण तिव्र रुपमा फैलिएकाले सतर्कता अपनाउन स्वास्थ्य कार्यालय धादिङले अनुरोध गरेको छ ।डेंगु एडिस (एजिप्टाइ) जातिका पोथी लामखुट्टेको टोकाइबाट संक्रमण हुने भाइरल ज्वरो हो।

प्रायः दिनको समय, विशेष गरी बिहान र बेलुकाको समयमा सक्रीय रहने एडिज जातको लामखुट्टेको टोकाईबाट डेंगु रोग लाग्ने हुनाले, डेंगु संक्रमणको जोखिम कम गर्न कार्यस्थल वरिपरि निरन्तर सफा राख्न र पूरा बाहुला भएको पोसाक अनिवार्य लगाउन स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरिक्षक छत्कुलीले आग्रह गर्नुभएको छ ।

डेँगु रोगको रोकथामको लागि गर्नै पर्ने क्रियाकलापहरु ः
१.गमला, फुलदानी, खाली बट्टा, अलकत्रा वा मटीतेलका खाली ड्रमहरु, गाडीका काम नलाग्ने टायर आदिमा पानी जम्न नदिऔँ ।
२.पानीको ट्याङकीलाई लामखुटे प्रवेश गर्न नसक्ने गरी ढाकेर राखौँ ।
३.पुरा बाहुला भएको शरीर पुरै ढाक्ने कपडा लागाऔँ ।
४.दिउँसो वा राति सुत्दा झुल प्रयोग गरौ साथै साना केटाकेटीहरुलाई जुनसुकै समयमा पनि झुल भित्र सुताऔँ ।
५.घरको झ्याल ढोकामा जाली लगाऔँ ।
६.घर वरीपरी सफा सुग्घर राखौ र पानी जम्ने खाल्डा खुल्डी पुरौ ।
७.आफु बसोबास गर्ने स्थानमा लामखुटेको लार्भा तथा अण्डा खोजी गरी नष्ट गर्ने अभियान चलाऔँ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्