कम्युनिष्ट आन्दोलनलाई एकीकृत गर्ने अभियानमा लाग्ने छौं : अध्यक्ष ओली

प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा (एमाले) माओवादी केन्द्रसँगको एकीकरणको विरासतलाई अगाडि बढाउँदै नयाँ स्वरुपमा पुनःस्थापित भएको बताएका छन् ।

सोमबार २८ औँ मदन–आश्रित स्मृति दिवसका सन्दर्भमा विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री ओलीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)लाई समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षाको च्याम्पियन बनाउने इमान्दार प्रयास सफल हुन नसकेको बताए ।

केही विभाजनकारी, अस्थिर र अवसरवादी सोचले लक्ष्य पूरा हुन नदिएको ओलीको भनाइ छ । ‘तीन वर्ष अगाडि आजैका दिन हामीले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीचमा पार्टी एकीकरण गरेका थियौं । यो विभाजित कम्युनिष्ट आन्दोलनलाई एकीकृत गर्ने, राष्ट्रियता, सामाजिक– आर्थिक रूपान्तरण र समाजवाद निर्माणको मुख्य संवाहकका रुपमा नेपाल कम्युनिष्ट पार्टीलाई स्थापित गर्ने र यसलाई समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षाको ‘च्याम्पियन’ बनाउने हाम्रो इमान्दार प्रयास थियो । तर, कतिपय नेताहरुका विभाजनकारी, अस्थिर र अवसरवादी सोच तथा क्रियाकलापका कारण एकीकरणको अभियान निष्कर्षमा पुग्न सकेन,’ विज्ञप्तिमा भनिएको छ ।

कम्युनिष्ट आन्दोलनलाई एकीकृत गर्ने अभियानमा निरन्तर लागिरहन कृतःसङ्कल्पित भएको अध्यक्ष ओलीले बताए । यस्तै ओलीले जनताको बहुदलीय जनवादको रक्षा गर्दै कम्युनिष्ट आन्दोलनलाई एकीकृत गर्ने अभियानमा लाग्ने अठोट व्यक्त गरे ।

नेपाल राष्ट्र तथा नेपाली जनताको लागि भण्डारीले पुर्‍याएको योगदानहरु दूरगामी महत्वको र अतुलनीय रहेको ओलीको भनाइ छ । २०५० साल जेठ ३ गते नेकपा एमालेका तत्कालीन महासचिव मदनकुमार भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको चितवनको दासढुङ्गामा रहस्यमय दुर्घटनामा निधन भएको थियो । 

प्रधानमन्त्री ओलीले मदन–आश्रितको निधन नेपालको कम्युनिष्ट आन्दोलनका लागि एउटा अपूरणीय क्षति र गम्भीर धक्काको विषय रहेको बताए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्