स्वास्थ्य सामाग्रीसहित अत्यावश्यक वस्तुको आपूर्ति सहज बनाउन भन्सारले खटायो ‘क्विक रेस्पोन्स टिम’

काठमाडौं। महामारीको बेला स्वास्थ्य सामग्रीसहित अत्यावश्यक वस्तुको आपूर्ति सहज बनाउन भन्सार विभागले ‘क्विक रेस्पोन्स टिम’ खटाएको छ । अर्थमन्त्री बिष्णु पौडेलको निर्देशनअनुसार बिभागले ‘क्विक रेस्पोन्स टिम’ खटाएको हो ।

भन्सार प्रशासनले कोरोना महामारीमा खेलेको भूमिका सम्बन्धमा आज आयोजित भर्चुअल छलफल कार्यक्रममा भन्सार विभागका महानिर्देशक यमलाल भुसालले ‘क्विक रेस्पोन्स टिम’ गठनबारे जानकारी दिनुभएको हो । भूसालका अनुसार अत्यावश्यक वस्तुको आपूर्तिलाई सहज बनाउन विभागले ‘क्विक रेस्पोन्स टिम’ बनाएर काम अघि बढाइएको छ । अर्थमन्त्री पौडेलसहितको आजको बैठकमा कोरोना रोकथाम र उपचारसँग सम्बन्धित सामग्रीको भन्सार जाँचपास छिटो र छरितो बनाउन निर्देशन दिइएको हो । कार्यक्रममा अर्थमन्त्री पौडलले नेपाल सरकार, प्रदेश, स्थानीय तह, गैरसकारी संस्था, निजी क्षेत्रले आयात गर्ने लिक्विड अक्सिजन, अक्सिजन सिलिन्डर, अक्सिजन प्लान्ट र त्यसका पार्टपूर्जालगायतका सामग्रीहरुको बिनाझन्झट भन्सार जाँचपास गरी आपूर्तिलाई थप सहज बनाउन निर्देशन दिनुभयो ।

एकातिर कोभिड–१९ बाट जोगिनु पर्ने र अर्कातिर प्रभावकारी रुपमा कार्य सम्पादन गर्नु पर्ने अवस्था रहेको भन्दै मन्त्री पौडेलले स्वास्थ्य मापदण्ड पालना गरी काम गर्न समेत सुझाव दिनुभयो । अर्थमन्त्री पौडेलले कोभिड–१९ को उपचारका लागि आयात भएका वस्तुको परिणाम र मूल्यसहित दैनिक रुपमा जानकारी गराउन पनि निर्देशन दिनुभएको छ ।

अर्थसचिव शिशिरकुमार ढुङ्गानाले कोभिड–१९ को रोकथाम, नियन्त्रण र उपचारसँग सम्बन्धित सामग्रीहरुको भन्सार जाँचपास सम्बन्धी संक्षिप्त कार्यविधि जारी गरी लागू गर्न निर्देशन दिनुभयो भने राजस्व सचिव रामशरण पुडासैनीले छिटो जाँचपासका लागि छिमेकी मुलुकको भन्सारकार्यालयहरुसँग समन्वय गरी चौबिसै घण्टा प्रभावकारी रुपमा काम गर्न निर्देशन दिनुभएको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्