माधव नेपालसहित ११ सांसदलाई स्पष्टीकरण सोध्ने एमालेको निर्णय

काठमाडाैं । नेकपा एमालेको स्थायी कमिटी बैठकले वरिष्ठ नेता माधवकुमार नेपालसहित ११ जना सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ। शनिबार बालुवाटारमा अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको हो।

बैठकले नेता नेपालसहित झलनाथ खनाल, भीम रावल, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कालिला खातुनलगायतलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको पार्टीका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिए। उनीहरुलाई पर्सी (सोमबार) बिहान सम्ममा स्पष्टीकरण पेस गर्न समय दिइएको उनले बताए।

हस्ताक्षर २६ जनाले गरेका थिए तर किन ११ जनालाई मात्रै स्पष्टीकरण सोधिएको भन्ने प्रश्नको उत्तरमा ज्ञवालीले भने, ‘कतिपयले हस्ताक्षर गरेको छैन भनेर, कतिपयले माधव नेपाललाई प्रधानमन्त्री बनाउने सर्तमा हस्ताक्षर गरेको, कतिपयले अगाडि बेग्लै प्रयोजनका लागि गरिएको हस्ताक्षर दुरुपयोग भयो भनेर भन्नुभएकोले अरुलाई स्पष्टीकरण नसोधिएको हो।’

सरकार गठनका सबै चरण पार गरेर यो अवस्थामा आएको उनले दाबी गरे। प्रधानमन्त्री ओलीले समयको बर्बादी मात्रै हुने अवस्था भएकाले विश्वासको मत नलिएको उनले बताए।

‘कोभिड संक्रमणको पिकमा पुगेका छौं। खुसीको कुरा संक्रमितभन्दा निको हुने आजबाट बढेका छन्। अगस्टबाट महामारी कम हुँदै जान्छ भन्ने लाग्छ। संविधानअनुसार छ महिनाभित्र निर्वाचन गर्नुपर्ने भएकाले मिति त्यहीअनुसार तोकिएको हो,’ प्रवक्ता ज्ञवालीले भने।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्