प्रदेश १ मा पछिल्लो २४ घण्टामा १३ संक्रमितको मृत्यु

प्रदेश १ मा गएको २४ घण्टामा कोरोना संक्रमणबाट १३ जनाको मृत्यु भएको छ । अस्पतालमा उपचारको क्रममा १२ र होम आइसोलेसनमा एक जनाको मृत्यु भएको हो । विराटनगरको नोबेल शिक्षण अस्पतालमा तीन, बूढीगंगा गाउँपालिकामा रहेको विराट शिक्षण अस्पतालमा चार र कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा तीन जनाको मृत्यु भएको हो । त्यसैगरी विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा यो बीचमा दुई जनाको मृत्यु भएको छ ।

यता मोरङको सुन्दर हरैंचा नगरपालिका–६ की एक महिलाको होम आइसोलेसनमा मृत्यु भएको छ । विराट शिक्षण अस्पतालका कोभिड फोकल पर्सन सुनिल देवकाअनुसार विराटनगर महानगरपालिका–४ की ५४ वर्षीय महिलाको मृत्यु भएको छ । २२ वैशाखमा भर्ना भएकी महिलाको सोमबार बिहान मृत्यु भएको हो । 

विराटनगर–३ का ८० वर्षीय वृद्ध पुरुषको पनि विराटमा मृत्यु भएको छ । जेठ ८ गते भर्ना भएका वृद्धको गएराति १ः५० बजेतिर मृत्यु भएको हो । आइतबार दिउँसो झापा भद्रपुरका ५१ वर्षीय र सुनसरीको दुहबी नगरपालिका–११ का ४६ वर्षीय पुरुषको मृत्यु भएको थियो । दुहबीका पुरुष वैशाख २८ गते अस्पताल भर्ना भएका थिए । भद्रपुरका पुरुष आइतबार नै भर्ना भएका थिए ।

नोबेलका कोभिड फोकल पर्सन दिनेश न्यौपानेका अनुसार मोरङको उर्लाबारी नगरपालिका–९ की ५८ वर्षीय महिलाको मृत्यु भएको छ । उपचारका क्रममा उनको मृत्यु बिहान ९ः४० बजेतिर भएको अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए । उनलाई आइतबार अस्पताल भर्ना गरिएको थियो । संखुवासभाको खाँदबारी नगरपालिका–२ की ४५ वर्षीया महिलाको मृत्यु भएको छ । वैशाख ३१ गते भर्ना भएकी उनको सोमबार बिहान ४ बजे मृत्यु भएको हो ।

धनुषाको मिथिला नगरपालिका–११ घर भई विराटनगर–४ मा बस्दै आएका ७२ वर्षीय वृद्धको पनि मृत्यु भएको छ । जेठ ३ गते भर्ना भएका उनको सोमबार बिहान ४ः १५ बजेतिर भएको हो । कोशी कोभिड–१९ अस्पतालमा सुनसरीको धरान उपमहानगरपालिका–१७ का ६० वर्षीय पुरुषको मृत्यु भएको छ । उनी जेठ ३ गते भर्ना भएका थिए । यस्तै सोही अस्पतालमा आइतबार दिउँसो विराटनगर महानगरपालिका–९ का ७६ वर्षीय पुरुष र झापा गौरीगञ्जकी ८४ वर्षीय महिलाको मृत्यु भएको थियो ।

विराटनगरका वृद्ध जेठ ५ गते अस्पताल भर्ना भएका थिए । झापाकी वृद्धा वैशाख ३० गते भर्ना भएकी थिइन् । सुन्दरहरैंचा नगरपालिका–६ की ६५ वर्षीया वृद्धा महिलाको बिहान ६ः३० बजेतिर होम आइसोलेसनमा मृत्यु भएको छ । जेठ ५ गते कोरोना संक्रमण पुष्टि भएपछि उनी घरमै बसेकी थिइन् ।

यता वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आज बिहान मोरङको सुन्दरहरैचा १० का ७२ वर्षीय बृद्धको मृत्यु भएको छ । उनको आज बिहान ३ बजेर ५० मिनेटमा कोभिड अस्पतालमा मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा.चूडामणि पोखरेलले जानकारी दिए ।

मृतक उच्च रक्तचाप र मधुमेहका बिरामी थिए । उनलाई जेठ २ गते संक्रमण पुष्टि भएको थियो भने सोही दिन भर्ना गरिएको थियो । त्यसैगरी धनकुटा ४ का ६४ वर्षीय वृद्ध रहेका छन् । प्रतिष्ठानका सहप्रवक्ता पोखरेलले आइतबार राती  ८ बजेर ३५ मिनेटमा उनको मृत्यु भएको हो । उनलाई बैशाख २६ गते संक्रमण पुष्टि भएको थियो भने जेठ ९ गते प्रतिष्ठानमा भर्ना भएका थिए । 

रिएजेन्ट अभावमा पीसीआर परीक्षणको दर घट्यो

प्रदेश १ मा पीसीआर किट (रिएजेन्ट) अभावका कारण पीसीआर परीक्षणको दर घटेको छ । कोरोनाको दोश्रो लहर शुरु भएसँगै २५ सय बढीको परीक्षण हुँदै आएकोमा गएको पाँच दिन यताबाट रिएजेन्ट अभावका कारण पीसीआर परीक्षणको दर घटेको हो ।

गएको जेष्ठ ५ गते २ हजार ७५३ पीसीआर परिक्षण भएको प्रदेशमा रिएजेन्ट अभावका कारण हिजो ९ गतेसम्म आउँदा १ हजार ८६४ मा पीसीआर परिक्षणको दर झरेको छ । योसँगै प्रदेशमा संक्रमितको दर पनि घटेको देखिन्छ । तर संक्रमित घटना भन्दा पनि पीसीआर परीक्षणको दरमा कमी आएकाले संक्रमितको दरमा पनी कमी आएको हो ।

सामाजिक विकास मन्त्रालयका अनुसार गएको जेष्ठ ५ गते २ हजार ७५३ जनाको पीसीआर परीक्षण भएकोमा १ हजार २ ९८ जना संक्रमित थपिएका थिए । जेष्ठ ६ गते १ हजार ४११ जनाको पीसीआर परीक्षण भएकामा ६ सय ७३ जना संक्रमित थपिएका थिए । त्यसैगरी जेष्ठ ७ गते १ हजार ५८६ जनाको पीसीआर परीक्षण हुदा १ हजार ३९ जनामा संक्रमित भएका थिए ।

जेष्ठ ८ गते १ हजार ४३५ जनाको पीसीआर परीक्षण गर्दा ८ सय ८८ जना संक्रमित थपिएका थिए । हिजो जेष्ठ ९ गते २ हजार ८६४ जनाको पीसीआर परीक्षण गर्दा ७ सय ६३ जना संक्रमित थपिएका छन् । पीसीआर किट (रिएजेन्ट)अभावमा झापाको मेची अस्पतालको प्रयोगशालाले परीक्षण बन्द गरेको छ ।

अस्पतालले पीसीआर किट (रिएजेन्ट) को अभाव भएको भन्दै गएको शनिबार सूचना जारी गरेर अनिश्चितकालका लागि परीक्षण बन्द गरेको हो । अस्पतालका सूचना अधिकारी मनोज पोखरेलका अनुसार दैनिक २०० जनाको परीक्षण भइरहेको अस्पतालको प्रयोगशालालाई सरकारले किट उपलब्ध नगराएपछि परीक्षण बन्द भएको हो । प्रदेशको सामाजिक विकास मन्त्रालयले किट छैन भनेकोले परीक्षण बन्द गर्नुपरेको अस्पतालले जनाएको छ ।

मन्त्रालयले ७ दिनअघि ५०० किट उपलब्ध गराएकोमा त्यो सकिएको अस्पतालले जनाएको छ । मेची जस्तै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि पीसीआर किट अभावमा पीसीआर परिक्षणको दर घटाएको छ । प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक जयवेन्द्र यादवले किट अभावको समस्या प्रदेशभरका प्रयोगशालामा रहेको बताउँदै आपूर्तिका लागि पहल भइरहेको बताए ।

सामाजिक विकास मन्त्रालयका सचिव सचिव गोविन्दबहादुर कार्कीका एन्टिजेन किट अभाव नभएकोले पीसीआर परीक्षण घटेको भएपनि बिहीबार थप १४ हजार ७ सय ५० थान एन्टिजेन किट आएको बताए । तर, त्यो पर्याप्त नभएको उनको भनाइ छ । प्रदेश १ मा कोशी अस्पताल, प्रदेश जनस्वास्थ्य प्रयोगशाला, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, मेची अस्पताल, कन्काई कोटिहोम प्रयोगशाला र अन्य निजी क्षेत्रका केही अस्पतालमा कोरोनाको पिसिआर परीक्षण हुँदै आएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्