कक्षा–१२ को परीक्षा भौतिक उपस्थितिमै हुने,एसइई वैकल्पिक विधिबाट गर्न सिफारिस

काठमाडौं,१६ जेठ ।
कोरोनो कारण रोकिएको कक्षा–१२ को परीक्षा भौतिक उपस्थितिमै सञ्चालन गर्ने राष्ट्रिय परीक्षा बोर्डले  निर्णय गरेको छ । शनिबार बसेको बोर्डको बैठकले उपयुक्त समयमा भौतिक रूपमा परीक्षा गर्ने निर्णय गरेको हो। यस्तै सइई परीक्षा भने वैकल्पिक विधिबाट सञ्चालन गर्न शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयमा सिफारिस गरिएको बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेलले जानकारी दिनुभयो।

कोरोना संक्रमण जोखिम अझै कायमै रहेको भन्दै एसइई परीक्षा भौतिक उपस्थितिमा गर्ने सम्भावना नभएकाले वैकल्पिक विधिबाट गर्ने भनेर मन्त्रालयमा शनिबार सिफारिस गरेको र सिफारिस स्वीकृत भएपछि अरू थप परीक्षाबारे निर्णय लिएर सार्वजनिक गर्ने पौडेलले बताउनुभयो । उहाँका अनुसार कक्षा–१२ को परिक्षा साउन वा भदौ महिनामा उपयुक्त समयमा भौतिक उपस्थितिमै सञ्चालन गरिने छ । यसका लागि पाठ्यक्रम संशोधन गरिने उहाँँले बताउनुभयो ।

कोरोना संक्रमण बढ्दै गएपछि बोर्डले गत वैशाख २७ गते एसइई र कक्षा–१२ को परीक्षा स्थगित गरेको थियो। यही जेठ १३ गतेदेखि एसइई र जेठ २६ गतेदेखि कक्षा–१२ को परीक्षा सञ्चालन गर्ने गरी बोर्डले तालिका सार्वजनिक गरेको थियो। तर, कोरोनाका कारण परीक्षा हुन सकेन्।

परीक्षा स्थगित गरेकै दिन शिक्षा विभागका महानिर्देशक वैकुण्ठप्रसाद अर्यालको अध्यक्षमा गठित कार्यदलले तयार पारेको मोडल अनुरूप कार्यदलले एसईई र कक्षा–१२ को परीक्षाको मोडालिटी प्रतिवेदन गत बिहीबार बोर्डलाई बुझाएको थियो।कार्यदलले बुझाएको प्रतिवेदनमा सरोकारवालाहरूले वैकल्पिक विधि, आन्तरिक मूल्यांकन र बढी उपयुक्त समयमा भौतिक रूपमा परीक्षा गराउने लगायत सुझाव दिएको थियो । 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्