ढुवानीमा अवरोध नगर्न गृह मन्त्रालयको निर्देशन

सीमावर्ती भन्सार र उद्योग प्रतिष्ठानबाट मालसामान ओसार्ने साधनलाई ढुवानीका क्रममा राजमार्गमा अवरोध नगर्न गृह मन्त्रालयले निर्देशन दिएको छ । यसअघि सरकारले कोरोना महामारी नियन्त्रणका लागि भन्दै अत्यावश्यकीय वस्तु तथा सेवावाहेक अन्य सामग्रीलाई काठमाडौं उपत्यका प्रवेशमा रोक लगाएको थियो ।

गृह मन्त्रालयले बुधवार मातहतका २० ओटा जिल्ला प्रशासन कार्यालयलाई पत्र लेखेर ढुवानी सहजीकरण गर्न निर्देशन दिएपछि यो समस्या समाधान भएको छ । झापा, मोरड, बारा, पर्सा, रूपन्देही, कपिलबस्तु, बाँकेलगायत मुख्य नाका र राजमार्गमा पर्ने जिल्ला प्रशासनलाई ढुवानीका साधनलाई गन्तव्यसम्म जान र फर्किने सहज व्यवस्था मिलाउन भनिएको छ ।

भन्सारबाट जाँचपास भएर भित्रिएका र औद्योगिक उत्पादन बोकेका गाडी काठमाडौं उपत्यका प्रवेश गर्न पाएका थिएनन् । काठमाडौं उपत्यकाका जिल्लामा कोरोना संक्रमण तीव्र बढेपछि कडाइ गरिएको थियो ।मन्त्रालयले भन्सार नाकाहरूबाट उद्योगको कच्चा पदार्थ र सहायक कच्चा पदार्थ बोकेर भित्रिएका ट्रक र कन्टेनरलाई गन्तव्यसम्म जान दिन जिल्ला प्रशासनलाई निर्देशन दिएको छ । मन्त्रालयका शाखा अधिकृत भास्कर दाहालले हस्ताक्षर गरेको पत्रमा मालवाहक साधनलाई गन्तव्यसम्म जान र फर्किने व्यवस्थाका लागि सहजीकरण गर्न भनिएको छ । यो​ समाचार आर्थिक अभियान दैनिकमा छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्